"कायापलट भयो नि, बुझ्यौ ?’’ आमाले मसँग भन्नुभयो ।
मैले सोधेँ, "के, कसरी?’’
इतिहास कोट्याउँदै आमाले भन्नुभयो, "तिमीले पहाडको घर देख्यौ नि ! हो, यहाँको स्थिति पनि त्यस्तै थियो । एक घरबाट अर्को घरको दुरी टाढा हुन्थ्यो । नजिकै जङ्गल थिए । साँझपर्दा स्याल कराउँथ्यो । जाडोमा बाहिर भएको पानीको भाँडोमा ठाँटो जम्थ्यो । तुसाराले हातगोडा कठ्याङ्ग्रिन्थो । हरेक घरमा गाई, भैंसी र अन्य वस्तु पाल्दै खेती गर्ने चलन थियो । घरका परिवारमा कृषि आत्मनिर्भर हुने जमाना थियो । संयुक्त परिवारका कारण सबै सदस्य एकअर्कामा निर्भर थिए । राज्य नगदेबालीमा आत्मनिर्भर मात्र हैन निर्यात पनि गर्थ्यो । घरेलु खादी कपडामा आत्मनिर्भर थिए । सबै जनता घरेलु कपडा प्रयोग गर्थे ।
दरवारमार्ग, न्यूरोडलगायतका केही स्थान मात्र सहर भन्न सुहाउने थिए । वरिपरिका स्थान ग्रामिण परिवेशका थिए, बुझ्यौ छोरी ? मौलिकतामा रमेको हरियाली गोरेटो, घोरेटो बाटाहरू थिए । हरिया पहाड, बागमती नदी, धोबीखोला, ठाउँ–ठाउँका कुलाहरूले सिँचाइको काम गर्थ्यो । बाटा वारि र पारि हिउँदमा आलु, काउली, मूला, केराऊ जस्ता सागसब्जी र वर्षामा धनका बालाले झुल्थे । बिहान साँझ उपत्यका वरिपरिका नजिकैका पहाडमाथि हिमाल कहिले सुनौलो र कहिले चाँदीझैँ भएर उदाउँथे ।
“अहिले कसरी जताततै मैदानभरि बालिनालीका साटो घर फले त ?” मैले आमालाई सोधेँ ।
आमाले मन खुम्च्याउँदै भन्नु भयो, "राज्यले विकासका लागि विकेन्द्रीकरणको सिद्धान्त त लागू गर्यो तर कसैलाई काखा कसैलाई पाखा भनेजस्तै भयो ।’’


No comments:
Post a Comment