"सबै साथीहरूसँग एकसे एक मोबाइल छ । आफूसँग भने थोत्रो । अरुलाई देखाउन पनि लाज लाग्ने दुई पैसे मोबाइल छ । अब देखि मलाई फोन नगर्नुस् है बा ! म जवाफ दिन्न ।’’ सुरेश प्रत्येक दिन स्कूल जाने बेला आफ्नो बाबुलाई घुर्क्याउँछ ।
छोरालाई साम्य पार्न खोज्दै बुबा भन्दै छन्, – “त्यसो नभन न बाबू, एक महिना साहुले ओभर टाइम गर्न दिए भने म तिमीलाई नयाँ यो भन्दा राम्रो मोबाइल किनिदिन्छु । छोरा तिम्रै उज्ज्वल भविष्यको लागि घरमा तिम्री आमा र बहिनीलाई छोडेर यहाँ सानोतिनो काम गरेर पैसा कमाउँदै छु । म तिम्रो सबै इच्छा बिस्तारै पूरा गरिदिन्छु । सरकारी स्कूलमा नभएर तिमीलाई प्राइभेट स्कूलमा एघार कक्षामा भर्ना गरेको छु । तिमी पढाइमा ध्यान देउ । अरु सबै म पुर्याउँछु ।’’
“तपाईं सधैँ यसै भन्नू हुन्छ । तर मेरो कुन इच्छा पुर्याउनु भएको छ र ? अब म आफूलाई चाहिने पैसा जसरी भए पनि आफैँ कमाउँछु ।’’ बाबुले धन भएर पनि छुच्याइँ गरेको जस्तोगर्दै रिसाएर ढोका ढ्याम्म बजारेर हुत्तिएर बाहिर निस्कियो ।
“ए बाबू छोरा नरिसाउन । तिमी पहिले आफ्नो पढ्ने काम सक न । कमाउने कुरा त छँदै छ नि’’ भन्दै बुबा छोरीलाई सम्झाउन खोज्छन् ।
“भैगो, मलाई अर्ति दिनु पर्दैन । म आफैँ कमाउँछु ।’’ राम्रो पढेर ठूलो मान्छे बनोस् । आफूहरूको भविष्यको सहारा बनोस् भनेर दुःखजिलो गरी सहर ल्याएर पढाएको छोरोको क्रियाकलापले उनको मुटुमा ठेस लागेतापनि धैर्य गर्दै बेलुकीको खाना बनाएर छोरोको प्रतीक्षा गरेर बसे । आधा रात बितिसक्दा पनि छोरो आएन । त्यत्तिकैमा अकस्मात ढोका खोलेर हुत्तिंदै अरु उस्का दुईजना साथी कोठाभित्र छिर्दै “बुबा हामीले एटिएम फोरेर पैसा लुटेर आएका छौं । पुलिस हाम्रो पिछा गरिरहेको छ । हामीलाई लुकाईदिनुस् प्लिज बुबा ।’’
–अमेरिका


No comments:
Post a Comment