खसी बजारमा खसी बेच्ने र किन्नेहरूको मोलमोलाई चलिरहेको थियो । “ल हेनुस् त, पहाडिया, घाँस खाएर हुर्केको, ठ्याक्कै पैँतीस, केजीको, पन्ध्र हजार हजुर ।” दसैँको बेला,खसी किन्ने, काट्ने र कटाउनेहरूको घुइँचो थियो ।
सोमका बुवा धरणीलाई राति अचानक हृदयाघात भएछ । खै, के भो, के भो भन्दाभन्दै बिहान भयो । सुत्केरी श्रीमती, तीनवर्षे छोरो, एक्लो उसले कुनै निर्णय लिन सकेन ।
“हेलो, नमस्कार काका ! हेर्नु न, रातिदेखि अचानक बुवालाई के भो, के भो ? हात–खुट्टा पनि चल्दैनन्, बोली पनि आउँदैन । के गर्ने होला है ?”
“ओहो ! अचानक कसरी यस्तो भयो दाइलाई ? तुरुन्तै अस्पताल लैजानुपर्थ्यो नि, लगेनौ त ?”
अहँ काका, मध्यराति, एक्लै, टेक्सी पनि पाइएन । एम्बुलेन्सका ड्राइवर पनि बिदामा रे ! हजुर आउनुहुन्थ्यो कि भनेर ।
“हेर न सोम, म दक्षिणकाली हिँड्नै लागेको, दर्शन गरेर आउँछु नि । बरु अस्पताल लगिहाल, म त्यतै आउँछु ।”
हवस् काका भन्दै फोन राखिदियो सोमले । यसो सोच्यो अनि फेरि डायल गर्यो र सबै कुरा बतायो ।
“ओहो, कस्तो बेलामा फोन गर्यौ, म त खसी काट्नमा पो व्यस्त छु त । एकदुई घण्टापछि आउँला नि, हुन्न ? अँ सुन त, तुरुन्तै टेक्सीमा राखेर अस्पताल लग, म त्यतै आउँला ।”
सोम एकदम हतास भयो । रागिनी, एकछिन् बुवालाई हेर्दै गर है भनी ऊ बाहिर निस्कियो ।
“अरे सोम, हतारिँदै यतिखेर यहाँ ? किन, के भयो र ?”
“रोशन, हेर न, रातिदेखि अचानक बुवालाई के भो, के भो ? बोली पनि आउँदैन, शरीर पनि चल्दैन ।”
“अनि अस्पताल लगेनौ त ? यस्तो अवस्थामा पनि घरमै राख्न हुन्छ त ?”
“त्यो त हो तर साथमा पैसा थिएन, बैङ्कमा भएको पनि आज बिदाको दिन पर्यो ।”
“अरे, कस्तो बेलामा आएछौ । खसी किन्न भनेर राखेको तीस हजारजति हिजो तास खेलेर हारियो । खसी पनि नकिनी नहुने छ । फेरि दिउँसो साथीभाइले बस्ने भनेका छन्, खल्ती रित्याउनु पनि भएन । यसो हजार, पाँच सयले हुन्छ भने काम चलाउ क्यारे ।”
भुईँमा असरल्ल परेका शुभकामना कार्डहरूमा सोमका आँखा परे । ठिक्क पार्ने मानवीय देखावटी प्रवृत्तिप्रति उसको मनमा वितृष्णा जाग्यो ।
गङ्गालाल अस्पतालकोे एम्बुलेन्स आएर घर अगाडि रोकियो । एम्बुलेन्स देखेर पनि छिमेकी घरभित्र लुके, बटुवा आफ्नो बाटो लागे ।
“हजुर, सुन्नुस् त, धरणी काकालाई त एम्बुलेन्समा राखेर अस्पताल लैजाँदै छन् नि । के भएको हो ? यसो बुझ्ने पो हो कि?”
“अरे लाटी, थाहा नपाएझैँ गर्न हो । यस्तो मेला पर्वको रमाइलोमा अस्पताल धाउनुपर्यो भने … ।”
दसैँ गयो, कोजाग्रत पूर्णिमा पनि बित्यो । सोम कतै देखिएन । आफन्ती र छिमेकीले पनि चासो लिएनन् ।
लक्ष्मी–पूजाको दिन, बुकबाट तासको पत्ती तान्दै एकजनाले भन्यो, “हैन, सोमका बुवा त सिद्धिएछन् नि, आज नौ दिनभए रे !”
“ए हो र ? अनि कहाँ बसेका छन् रे त ? एकपटक बुझ्न पाए हुने ।”
“खै, गङ्गालाल अस्पतालबाट सिधैं गाउँ गएका थिए रे, उतै बसे त होलान् नि ।”
“अरे, हुन दे, बरु आएपछि घरमै भेटौँला नि।”
“बूढा त हट्टा कट्टा नै थिए, के भएर सिद्धिएछन् कुन्नि?”
“अरे कतिमात्रै मरेका कुरा गर्छौ, चाँडै गर न हो ।”
सबै क्रियाकर्म सकी सोम हिजो मात्रै घर आए रे भन्ने हल्ला चल्यो । यो थाहा पाएर चार–उनका आफन्ती, साथीहरू उनको घरभित्र पसे । उनीहरू बाहिरन नपाउँदै श्रद्धाञ्जली पत्र बोकेका सहकारी र सङ्घ–संस्थाका दुई हुल पनि भित्र छिरेको देखियो ।


No comments:
Post a Comment