Sunday, September 13, 2026

लघुकथा (अङ्क ३८ मा प्रकाशित)



खसीको मासुको किलोमा दुई सय बढ्यो । अरूले त तीनसयदेखि पाँचसयसम्म बढाएका छन् । हाम्रोमा मात्रै हो कम ।’’ मासु पसलेले आफ्नो पसलको दैलोमा उभिएका ग्राहकहरूको भीडलाई सम्बोधन गर्दै भन्यो ।

''हरेक मासु पसलमा कुखुराको मासु पनि उत्तिकै थुप्रिएको छ त । कसरी बर्डफ्लूले असर गर्‍यो कुखुराको मासुलाई ?’’ एकजना ग्राहकले प्रतिक्रिया जनायो ।

"बर्डफ्लू रोग नलागेको कुखुरा मात्रै आउँछ बजारमा । त्यसैले कुखुराको मासुको पनि भाउ बढेको छ नि ।’’ मासु पसलेले थप्यो । "यसरी जे पायो त्यही भाउ राख्न पाइन्छ र? कसले दिन्छ स्विकृति, संघिय सरकारले कि स्थानीय पालिका सरकारहरूले ?’’ अर्को ग्राहकले पनि आफ्नो आवाज रोकेन ।

"यो देशमा जसले जे सामानको भाउ जति राखेर बेचे पनि कसैले प्रश्न गर्दैन । एम.आर.पी. भन्ने कुन चराको नाम हो कसैलाई थाहै छैन । न कुनै निकाय छ वास्तविक रूपमै बजार अनुगमन गर्ने, न त बलियो उपभोक्ता मञ्च नै छ उपभोक्ताहरूको हितमा बोल्ने । केन्द्र सरकार भन्ला स्थानिय सरकारको काम, स्थानिय सरकार भन्ला यो त संघिय सरकारको काम । कामै नगर्नेहरूलाई कसको काम के हो सम्म पनि थाहा छैन । पद्धतिमै लागेको छ बर्डफ्लू भन्दा कडा रोग अनि कुखुरालाई बर्डफ्लू लाग्दा खसीको मासुको भाउ बढ्ने नै भयो नि ।’’ एकजना ग्राहकले प्रतिक्रिया जनायो र आफूले खरिद गरेको मासुको पोको च्यापेर बाटो लाग्यो । 

अरू ग्राहकहरू एकापसमा मुखामुख गर्न थाले ।

– सिर्जनानगर, सल्लाघारी, भक्तपुर

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:

Post a Comment