विशाल कम्पनीको उत्पादन कक्षमा कर्मचारीहरू घण्टौँ उभिएर रोबोटसँगै काम गरिरहेका थिए । मेसिनहरू निर्धारित गतिमा चलिरहेका थिए, तर मानिसका अनुहारमा थकान बढ्दै थियो ।
लगातार काम गर्दा रमेशले खुट्टा समाउँदै सीमा र सुरेशलाई भन्यो,
“आज त खुट्टाले काम गर्नै मानेनन् । रेस्टरुममा गएर पाँच मिनेट बस्छु ।”
सीमा झस्किइन्, “रेस्टरुम? त्यहाँ जान पनि अनुमति चाहिन्छ नि !”
सुरेश मुसुक्क हाँस्यो, “नाम त आराम गर्ने कोठा हो । तर यहाँ आराम गर्न पनि कम्पनीको अनुमति चाहिन्छ होला !”
उसले सुपरभाइजरलाई फोन गर्यो ।
“सर, रेस्टरुम जान अनुमति पाऊँ ?”
“कारण ?”
“जैविक विसर्जन गर्न सर ।”
रमेश केही क्षण ढोकामै उभियो । त्यत्तिकैमा रोबोटको आवाज आयो–
“वर्क फ्लोमा नरोकिनुहोस् । यहाँबाट निस्कन पाईंदैन् ।”
रमेश फेरि कामतिर फर्कन लाग्यो ।
सीमाले उसलाई रोक्दै भनी–
“रमेश, हामी मान्छे हौं । रोबोटजस्तो चल्न सकिंदैन ।”
रमेशले रोबोटतिर हेर्दै भन्यो, तिमी त यो धर्तीका मानव नै होइनौं ।
“तिमीसँग दया छैन । तिमी यान्त्रिक, हामी जैविक ! हामीभित्र मुटु, संवेदना र थकान छ ।” तिमीले हामीलाई फलो अप गर भन्ने ? तिमीलाई हामीले बनाएका हौ । रोबोट र रमेश बीच कट्का कट्की पर्दै थियो,
त्यही बेला सुपरभाइजर आए ।
रमेशको पसिनाले भिजेको अनुहार र काँपिरहेका खुट्टा निलो न कालो देखेर उनी केहीबेर मौन रहे ।
“ल जाउ अब” उनले भने
रेस्टरुमको ढोका खुल्यो । रमेश भने एकछिन आराम र लघुशङ्का गर्न हतार गर्दै भित्र पस्यो ।
–टोखा ३, काठमाडौँ


No comments:
Post a Comment