अँध्यारो भण्डारको कुनामा राखिएको त्यो माटोको कन्तारी (दही जमाउने चौडा भाँडो) केवल एउटा सजीव गर्भाशय झैँ प्रतीक्षारत थियो । बाहिरबाट खस्रो, डढेको माटोको रङ्ग, तर भित्र एउटा अनन्त सोस्ने तिर्खा ।
“यसलाई किन यसरी माटोको कन्तारीमै जमाउनुपरेको त बाजे ?’’ युवकले कौतुहलतापूर्वक सोध्यो, जसको आँखा कन्तारीको त्यो गोलो र गहिरो बनावटमा अड्किएको थियो ।
वृद्ध बाजेले मुस्काउँदै तातो दूधको कराहीबाट कन्तारीमा दूध खन्याए । सेतो तरलले माटोको त्यो सुख्खा सतहलाई स्पर्श गर्दा एउटा मधुर 'सूँऽऽ’ आवाज आयो—मानौँ माटोले तृप्तिमा लामो सुस्केरा हालेको होस् ।
“बाबु, यो केवल भाँडो होइन, यो त 'प्रकृति' र 'पुरुष'को मिलनबिन्दु हो,’’ बाजेले गहिराइमा डुब्दै भने, “स्टिलका भाँडाहरू त सधैँ टाढा रहन्छन्, तिनीहरूले दूधलाई स्पर्श त गर्छन् तर कहिल्यै अङ्गाल्दैनन् । तर यो कन्तारी ? यसले त दूधको चञ्चलता, त्यसको अनावश्यक पानी (आवेग)लाई आफ्ना स–साना छिद्रहरूबाट सोसेर लिन्छ । यसले दूधलाई 'नग्न’ बनाएर त्यसको सारतङ्खव मात्र बाँकी राख्छ ।’’
युवकले कन्तारीको कसिलो मुख र त्यसको बनावटलाई हेर्यो । त्यहाँ एउटा आदिम यौनिकता थियो—एउटा यस्तो आकर्षण, जहाँ एउटा तङ्खवले अर्कोलाई पूर्ण रूपमा गलाएर नयाँ स्वरूप दिँदै थियो ।
“अनि यो अमिलो जोडन नि ?’’ युवकले सोध्यो ।
बाजेले सानो थोपा दही बीचमा चुहाइदिँदै भने, “यो त त्यो एउटा विचार हो, त्यो एउटा 'उत्तेजना’ हो जसले शान्त दूधमा हलचल ल्याइदिन्छ । हेर त, अब यो रातभरि यो कन्तारीको अँध्यारो कोखमा गुम्सिएर बस्नेछ । माटोको न्यानोपन र जोड्नको तीखोपन मिलेर यसलाई एउटा यस्तो 'ठोस’ रूप दिनेछन्, जुन न दूध रहनेछ, न माटो ।’’
रात छिप्पिँदै जाँदा कन्तारीभित्र एउटा मौन संभोग चलिरह्यो । दूधले आफ्नो तरलता त्याग्यो, माटोले आफ्नो शून्यता भर्यो । बिहान जब कन्तारीको मुख खोलियो, त्यहाँ एउटा टम्म परेको, कसिलो र सुगन्धित 'यौवन’ जमेको थियो ।
“यो त साह्रै लोभलाग्दो देखिएको छ बाजे !’’ युवकले चम्चाले दहीको त्यो चिल्लो सतहलाई सुस्तरी स्पर्श गर्यो ।
बाजेले तृप्त हुँदै भने, “जीवन पनि यस्तै त हो नि बाबु । जबसम्म तिमी आफ्नो अहङ्कारको 'पानी’ यो माटोको कन्तारी जस्तै संसारमा सोसाएर रित्तिँदैनौ, तबसम्म तिम्रो व्यक्तित्वमा यो गाढापन र मिठास आउँदैन । कन्तारीले दूधलाई मारेको होइन, उसले त दूधलाई 'पूर्ण’ बनाएको हो ।’’
त्यो दहीको पहिलो स्वाद जिब्रोमा पुग्दा युवकलाई महसुस भयो—यो स्वाद मात्र थिएन, यो त माटो र दूधको एउटा सफल 'सृजना’ थियो, जहाँ त्याग र भोगको सीमा मेटिएको थियो ।
– इटहरी, सुनसरी


No comments:
Post a Comment