Monday, September 14, 2026

लघुकथा (अङ्क ३८ मा प्रकाशित)


जङ्गलमा संयोगले हात्ती, सुँगुर र मुसाको जम्का भेट भयो । तीनैजना मुखामुख गर्न थाले । हेर्दा तीनवटै जनावर उस्तै ।

सुँगुर र मुसातिर हेर्दै हात्तीले भन्यो –“हामी हेर्दा उस्तै छौ । हामी मध्ये म सर्वश्रेष्ठ हुँ । ठूलो छु । बलियो छु । तिमीहरू दुवैले मैले भनेको कुरा मान्नुपर्छ ।’’

हात्तीको यो कुरा सुँगुरलाई पटक्कै मन परेन । सुँगुरले हात्तीलाई भन्यो –“यस्तो फुर्ती लाउनु पर्दैन । मेरै सुँगुर जाति बढेर हात्ती बनेको हो । ज्यान ठूलो भयो । कान ठूला भए । पुच्छर लामो भयो । नत्र तिमी र म मा खासै फरक छैन ।’’

यो कुरा मुसाले छेउमा बसेर सुनिरहेको थियो । मुसालाई सुँगुरको तर्क पटक्कै मन परेन । सुँगुरतर्फ हेर्दै मुसाले भन्यो– “हाम्रो मुसाको जाति बढेर सुँगुर भएको हो । नत्र तिमीहरूको आकार, प्रकार, रूप, रङ ठ्याक्कै हामी मुसाको जस्तै छ ।’’

सुँगुर र मुसाको विवाद हात्तीले सुनिरहेको थियो । हात्तीलाई तनाव भयो । साँच्चै सुँगुर बढेर हात्ती भएको हो कि ? हात्ती घटेर सुँगुर भएको हो ? सुँगुर घटेर मुसा भएको हो अथवा मुसा बढेर सुँगुर भएको हो ? तीनै जनामा विवाद चर्कंदै गयो । समस्याको समाधान हुन सकेन । यसको छिनोफानो गर्न तीनैजना वनको राजा सिंहको दरबारमा जाने निर्णय गरे । 

तीनैजनाको तर्क सुनेपछि राजाले निर्णय सुनाए – “कोही बढेर अथवा कोही घटेर कोही बनेको होइन । प्रकृतिले सिर्जना गर्दा सबैलाई बराबरी हैसियतमा बनाएको हो । तिमीहरु आ–आफ्नो ठाउँमा सबै ठूला हौ । प्रकृतिको कानुनमा सबै बराबरी छौ“ । फैसला सुनेर तिनै जना दङ्ग परे अनि आ–आफ्नो बाटो लागे ।

– काठमाडौँ

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment