पण्डित रामानन्द आफ्नो संस्कार र परम्पराका कट्टर भएपनि छोरालाई पढाउनु पर्छ र छोरीलाई पनि बिहे अघि नै कम्तिमा चिट्ठी र तमसुक पढ्न सक्नेसम्म बनाउनु पर्छ भन्ने सोचाइका व्यक्ति थिए । त्यसैले उनले आफ्ना २ वटी छोरीहरूलाई ६–७ कक्षासम्म पढाई १३–१४ वर्षकै उमेरमा बिहे गरिदिए भने छोरो दयानन्दको पनि १८ वर्ष नपुग्दै पल्ला गाउँका खनाल पण्डितकी ७ कक्षासम्म पढेकी १६ वर्षकी शुसील र घरानीया कन्या पल्लवीसँग बिहे गरिदिए । बिहेपछि पनि छोराको पढाई निरन्तर भएपनि बुहारी पढाउने संस्कार बसाउन उनी चाँहन्नथे । छोराले गाउँमा विद्यालय शिक्षा पुरा गरेपछि उच्चशिक्षा अध्ययनका लागि शहर पठाए । परम्परागत विचारधारा भएका रामानन्द खर्च गर्ने कुरामा मितव्ययी हुनुपर्छ र जुनसुकै काम कम खर्चमा गर्नु पर्छ भन्ने धारणा रहेका रामानन्दले छोरालाई दिने खर्चमा पनि हिसाब गरेर ठिक्क आवश्यक खर्चमात्र दिएर पठाए । गाउँबाट हिसाब गरेर पठाएको खर्चले शहरमा अपुग हुनु स्वभाविकै थियो । महिना महिना पैसा त आउथ्यो तर सधैँ नपुग हुने ।
साथीभाइसँग सरसापट गर्दै ६ महिनासम्म खर्च चलायो तर साथीभाइको पनि घरबाट खटाएर पठाएको पैसा सधैँ दिइरहन सम्भव थिएन । अब त साथीको पैसा पनि तिर्नु पर्यो ऊ झन् समस्यामा पर्यो । केही दिन कलेज बिदा भएको बहाना बनाई उ घर फर्क्यो । खर्च नपुगेको कुरा सोझै बाबुसँग भन्न नसकेर आमा मार्फत भन्यो तर रामानन्द श्रीमतीका कुरा सुनेर छोरालाई बढी पैसा दिने पक्षमा थिएनन् । धेरै पैसा दियो भने छोरो बिग्रिन्छ भन्ने उनको धारणा थियो । आफूसँग रहेको केही पैसा त आमाले दिइन् तर यतिले पुग्नेवाला थिएन । अब उसले श्रीमतीसँग समस्या राख्यो । श्रीमतीसँग रहेको अलिअलि पेवा पाते पनि पाउने भयो तर यसबाट पनि समस्याको समाधान हुने नदेखिए पछि आमाबाबुसँग केही नभने पनि श्रीमतीसँग अब पढ्न शहर नफर्कने कुरा राख्यो । यो सुनेर श्रीमतीले ‘हजुरले पढाई छोड्न हुँदैन नपुग खर्चको जोहो म गर्छु’ भन्दै "आफूसँग भएका सबै गरगहना लगि बेचेर हाल काम चलाउनु त्यसपछि कति पैसा पुग्दैन म बुबा (माइती)लाई भनेर महिना–महिना नपुग पैसा पठाउन लगाउँछु” भनिन् । आमा र श्रीमतीले दिएका पैसा र श्रीमतीका भएभरका गहना बोकेर दयानन्द शहर गयो । गहना बेचेर काम चलायो र त्यसपछि बाबु र ससुराबाट नियमित खर्च आउन थाल्यो । श्रीमती मार्फत बढी नै रकम नपुगेको भनी ससुराको तर्फबाट बढी नै पैसा लिन्थ्यो । यस पछि समय समयमा घर पनि आउँथ्यो तर पैसा नपुेको भनेर आमासँग गुनासो भने गरेन । यस बीचमा उसको एउटा छोरो पनि जन्मियो । यसरी उसले सहजरुपमा पढाई पुरा गर्यो । अब उसले शहरमा जागिर पनि पायो र जागिरकै क्रममा एउटै अफिसमा काम गर्ने केटीसँग हिमचिम बढेछ । पढेलेखेकी जागिर पनि खाने र शहरमै घर भएका बाबुकी छोरी ।
दयानन्द नियमित घर आउनेमा धेरै दिनसम्म घर आएन र केही खबर पनि पठाएन । घरमा चिन्ता बढ्यो । पल्लवीले चिट्ठी पनि पठाइन् तर कुनै जवाफ आएन । बाबु आमा पनि आतालिएर शहरमै बस्ने पल्लागाउँको कार्कीका छोरालाई ‘जसरी पनि दयानन्दलाई भेटेर घरमा खबर गर्न भन्नु’ भनेर खबर पठाए । उसँग भेट पनि भएछ र कार्कीका छोराले ‘भेट भयो, छिट्टै घर जान्छु भन्नुभएको छ’ भनेर खबर गर्यो । अब घरपरिवार दयानन्द आउने प्रतीक्षामा बसे । केही दिनपछि ऊ घर आयो तर साथमा एउटी करिव उसकै उमेरकी सिन्दूर पोते लगाएकी केटी पनि थिई । यो देखेर सबै छक्क परे । पल्लवीको मनमा चिसो पस्यो र मुर्छा पर्ला जस्तो भइन् । आमाले सोधिन् ‘बाबु यी नानी चैं को हुन नि ?’ यति भन्नासाथै त्यो केटीलाई ‘बुबा आमालाई ढोग’ भन्दै ‘यिनी तपाईँहरूकी कान्छी बुहारी’ भन्यो । आमाबुबा मूर्तिवत् हेरेको हेर्यै भए, पल्लवीलाई असह्य पीडा भयो र त्यहीँ ढलेर मूर्छा परिन् ।
– दक्षिणकाली नगरपालिका ९, टल्कु


No comments:
Post a Comment