कहिलेकाहीँ आफैँलाई प्रश्न गर्छु; “म किन लेख्छु?’’
यो प्रश्नको उत्तर एउटा वाक्यमा दिन सकिँदैन । लेखन मेरो जीवनमा कुनै योजनाबद्ध निर्णय होइन । मैले बाँचेको समाज, देखेको असमानता, भोगेको अभाव, भेटेका मानिस र मनमा उठेका प्रश्नहरूले विस्तारै मलाई लेखनतर्फ धकेलेको थियो । त्यसैले मेरो लेखनको सुरुआत कलमबाट होइन, प्रश्नबाट भयो ।
म गरिब परिवारमा जन्मिएँ । अभाव मेरो लागि किताबमा पढेको विषय थिएन, जीवनको अनुभूति थियो । पढ्ने इच्छा थियो, तर अवसर सहज थिएन । औपचारिक शिक्षाभन्दा स्वअध्ययन मेरो जीवनको महङ्खवपूर्ण माध्यम बन्यो । किताबहरू मेरा शिक्षक बने, अनुभवहरू मेरा पाठशालाको रुपमा स्थापित भए । पढ्दै जाँदा मैले एउटा कुरा बुझ्दै गएँ; हामीले सामान्य ठानेका धेरै कुरा वास्तवमा असामान्य रहेछन् ।
ईश्वरको प्रार्थना गर्दा गरिबीको कुरा किन ईश्वरले सुन्दैन–बुझ्दैन, समाजमा कोही जन्मकै आधारमा माथि र कोही तल किन हुन्छ ? श्रम गर्ने मानिस नै किन अपमानित हुन्छ ? गरिबीलाई मानिसको भाग्य किन भनिन्छ ? प्रश्न गर्नुपर्ने ठाउँमा किन कर्म, भाग्य र ईश्वरको कथा सुनाइन्छ ? महिलामाथि नियन्त्रणलाई संस्कार किन भनिन्छ ? छुवाछूतलाई धर्मको नाममा कसरी स्वीकार गरियो ? मानिसले निर्माण गरेका विभेदलाई मानिसकै नियति किन बनाइयो ?
यी प्रश्नहरूले मलाई पछ्याइरहे; त्यसपछि लेखन मेरो लागि अनुभूति व्यक्त गर्ने माध्यम मात्रै रहेन; समाजलाई बुझ्ने एउटा असामान्य माध्यम बन्यो ।
म कथा लेख्छु भने पात्रभित्रको मानिस खोज्न । कविता लेख्छु भने मौन आवाजलाई शब्द दिन । निबन्ध लेख्छु भने स्थापित मान्यतामाथि प्रश्न उठाउन । मेरो कलमले कुनै व्यक्ति वा समुदायलाई गाली गर्नुभन्दा बढी अन्धविश्वाससँग, विभेदसँग, शोषणसँग र प्रमाणबिना सत्य घोषित गरिएका धारणागत प्रवृत्तिसँग बहस गर्न खोज्छ ।
समयसँगै विज्ञान र तर्कप्रतिको मेरो रुचि अझ गहिरिँदै गयो । मैले बुझ्दै गएँ; प्रश्न गर्नु मानिसको कमजोरी होइन, ज्ञानको सुरुआत रहेछ । प्रमाण खोज्नु आस्थाको अपमान होइन, सत्यप्रतिको जिम्मेवारी रहेछ । कुनै कुरा पुरानो हुँदैमा सत्य हुँदैन र धेरै मानिसले मान्दैमा प्रमाणित हुँदैन ।
त्यसैले मेरो लेखनमा नास्तिकता, वैज्ञानिक चेतना र अन्धविश्वास विरोधी दृष्टिकोण स्वाभाविक रूपमा प्रकट हुन्छ । मेरो लागि नास्तिकता ईश्वरको अस्तित्व नमान्नु मात्र होइन; प्रमाणबिना कुनै दाबीलाई सत्य नस्वीकार्ने बौद्धिक अनुशासन पनि हो ।
तर प्रश्न गर्दै जाँदा अर्को प्रश्न जन्मियो; आखिर म के बुझ्न खोजिरहेको छु ? उत्तर थियोः मानिस ।
मानिस कसरी बाँच्यो ? उसले कसरी श्रम गर्यो ? समाज कसरी निर्माण भयो ? असमानता कसरी पैदा भयो ? धर्म, संस्कृति, सत्ता, अर्थतन्त्र, प्रविधि र इतिहासले मानिसको जीवनलाई कसरी प्रभावित गरे ? मानिस किन उत्पीडित हुन्छ र कसरी प्रतिरोध गर्छ ? उसको चेतना कसरी परिवर्तन गर्न सकिन्छ ?
यिनै प्रश्नहरूलाई समेटेर मानिस र समाजलाई अझ व्यापक कोणबाट बुझ्ने मेरो प्रयत्न स्वरुप ‘जनशास्त्र’को अवधारणा विकास गर्न प्रयत्नशील छु ।
जनशास्त्र मेरो लागि नयाँ शब्द होइन, चुप लगाइएका मानिसलाई केन्द्रमा राखेर समाज बुझ्ने एउटा वैचारिक प्रयत्न हो । मानिसलाई जनसंख्याको संख्या, मतदाता, उपभोक्ता वा श्रमिकको रूपमा मात्र हेरेर पुग्दैन । उसको जीवन, श्रम, सम्बन्ध, संस्कृति, संघर्ष, चेतना, अधिकार, दुःख र सम्भावनालाई समग्रतामा बुझ्नुपर्छ ।
म श्रमिकका बारेमा लेख्दा उसको पसिना मात्र देखाउन चाहन्नँ; उसको श्रममाथि बनेको सामाजिक संरचना बुझ्न चाहन्छु । गरिबीबारे लेख्दा गरिब मानिसको दुःख मात्र देखाउन चाहन्नँ; गरिबी किन उत्पन्न हुन्छ भन्ने प्रश्न गर्न चाहन्छु । विभेदबारे लेख्दा पीडितको आँसु मात्र देखाउन चाहन्नँ; विभेदलाई टिकाइराख्ने विचार र संरचना पहिल्याउन चाहन्छु ।
मानिसलाई दोष दिन होइन, मानिसको अवस्था बुझ्न म लेखिरहन्छु र म साहित्यलाई मनोरञ्जनको साधन पनि मान्दिनँ । साहित्यमा सौन्दर्य चाहिन्छ, कल्पना चाहिन्छ, संवेदना चाहिन्छ; तर साहित्यले प्रश्न गर्न, सोच्न र चेतना जगाउन सक्यो भने त्यसको सामाजिक अर्थ अझ ठूलो हुन्छ । एउटा कथा पढेर पाठकले आफूले कहिल्यै नसोचेको मानिसको जीवनबारे सोच्न सक्छ । एउटा निबन्धले पुरानो विश्वासमाथि प्रश्न जन्माउन सक्छ । एउटा कविताले दबाइएका पीडालाई आवाज भर्न सक्छ ।
मलाई थाहा छ; एउटा लेखकले एक्लै समाज परिवर्तन गर्न सक्दैन । एउटा लेखले शोषण समाप्त गर्दैन, कविताले भोक मेटाउँदैन, कथाले विभेद तत्काल हटाउँदैन । तर विचार परिवर्तनको सुरुआत हुन सक्छ । प्रश्न गर्ने चेतनाको सुरुआत हुन सक्छ । त्यही चेतना सामूहिक परिवर्तनको आधार बन्न सक्छ ।
त्यसैले म लेख्छु; “मौनता तोड्न, प्रश्न गर्न र मानिसलाई मानिसकै पक्षबाट हेर्न ।’’ म लेख्छु, किनकि मैले देखेको अन्यायलाई देखेरै चुप बस्न सक्दिनँ । म लेख्छु, किनकि मलाई विश्वास छ; “मानिसको भविष्य भाग्य, कर्म वा कुनै अदृश्य शक्तिको हातमा छैन; मानिसको चेतना, श्रम, विज्ञान, सामूहिक प्रयत्न र राज्यको संरचनाले मानिसको भविष्य निर्माण गर्दछ ।’’
अन्ततः, मेरो लेखनको यात्रा आफैँलाई व्यक्त गर्ने यात्राभन्दा पनि मानिसलाई बुझ्ने यात्रा हो । म जति लेख्छु, त्यति नै प्रश्नहरू थपिँदै जान्छन् । र सायद लेखक हुनुको अर्थ नै यही हो; उत्तरको घमण्ड गर्नु होइन, सही प्रश्नहरू जीवित राख्नुमा हुन्छ ।
त्यसैले म लेख्छु । “ईश्वरको कथा दोहोर्याउन होइन, मानिसको कथा लेख्न । भाग्यको व्याख्या गर्न होइन, परिस्थितिको कारण खोज्न । मौनतालाई सुन्दर बनाउन होइन, प्रश्नलाई आवाज दिन । र अन्ततः, मानिसलाई बुझ्न, मानिसका पक्षमा उभिन र मानिसले आफ्नै संसार बदल्न सक्छ भन्ने सम्भावनामा विश्वास भर्न म लेखिरहन्छु ।’’

No comments:
Post a Comment