आज उसको पार्थिव शरीर चितामा राखिएको छ । लास जलाउनुअघि उसले अन्तिम पटक आफ्नो अनुहार हेर्यो । आकाशतिर फर्किएको उसको मुहार मौन थियो । चितामा अचेत अवस्थामा मृतमा परिणत भइरहेको थियो ।
आफ्नो मुहार हेरेर उसले सम्झ्यो, “म एक प्रतिष्ठित नेताको अनुहार हुँ । मसँग अथाह शक्ति थियो ।”
एकछिनपछि उसले फेरि आफ्नो मुहार हेर्दै सम्झ्यो, “म एक शक्तिशाली मन्त्रीको अनुहार पनि हुँ । राज्यको सम्पूर्ण शक्ति मेरो वरिपरि घुम्ने गर्थ्यो ।”
उसको अनुहार त्यस्तै शान्त थियो ।
एकाएक उसले सम्झ्यो, “म एक सर्वधनाढ्यको अनुहार पनि हुँ । मैले आफैँले गर्न नसक्ने, देख्न नसक्ने अथाह सम्पत्ति कमाएको छु ।”
फेरि उसले सम्झ्यो, “म एक सर्वाधिक चर्चित अनुहार हुँ । मानिसहरू एक झलक पाउन लालायित हुन्थे ।”
अन्तिममा उसले सम्झ्यो, “म भ्रष्टाचारमा लिप्त, कुकर्मले भरिएको आफ्नै आत्मासँग आँखा जुधाउन नसक्ने अनुहार पनि हुँ ।”
त्यसपछि उसले आफ्नो अनुहार हेर्न सकेन ।
उसको आत्मा निकै बेर रोइरह्यो ।
चितामा उसको शरीर जल्दै खरानी नबनेसम्म ।
–हालः अमेरिका


No comments:
Post a Comment