Monday, October 12, 2026

लघुकथा (अङ्क ३९ मा प्रकाशित)


"टोल समुदायमा गाह्रो सारो पर्दा वडाध्याक्ष पो अघि सर्नुपर्छ । तपाईं हामी जान्ने भएर अग्रसर हुनु खासै राम्रो होइन” भन्दै जो कोहीको आलोचना गर्थ्यो ऊ । 

साँच्चै भन्ने हो भने फल्नाले यसो गर्नुपर्छ ढेस्कानाले उसो गर्नुपर्छ भन्दै अर्तिबुद्धि दिनेमा खप्पिस थियो । ऊ आफै भने कहिल्यै अघि सरेर राम्रो काम गरेको दृष्टान्त थिएन । 

त्यो टोलमा महिनामा एकपटक टोलसुधार मिटिङ्ग बस्ने प्रचलन थियो । टोलका सधै नागरिक मिलेर एउटा मिटिङ्गमा उसलाई पहिलो वक्ता बनाउन निधो गरे । 

“आज मैले के बारे बोल्दैछु भन्ने बारे थाहै होला” भन्दै उपस्थित समुदायलाई प्रतिप्रश्न गर्‍यो । 

दर्शकदीर्घाबाट “थाहा छ” भन्ने स्वर गुन्जियो । ए… उसो भए थाहा भए के भन्नु पर्‍यो र भन्दै मञ्चबाट बाहिरियो । 

टोलबासीले अर्को मिटिङ्गमा पनि उसलाई पहिलो वक्तै बनाए ।

“आज मैले के विषयमा बोल्दैछु भन्ने सबैलाई थाह होला” भन्दै मुस्कुराउँदै बोल्यो ऊ । 

भीडबाट “थाह छैन” भन्ने उत्तर पाएपछि “तपाईंहरू दिनरात चासो राख्नेलाई त थाह नभएको विषयमा मैले के बोल्नु” भन्दै पन्छियो ।

टोलमा उसको यस्तै हर्कतले सबैलाई हत्तु पारेको थियो । 

उसको सेखी झार्न “आधा जसोले थाह छ भनौं आधा जसोले थाह छैन भनौं” भनेर अत्तो थाप्ने टोलबासीले सल्लाह गरे । 

उसले यसपटक के भन्दोरहेछ भन्नेमा सबैलाई कौतुहल थियो ।

आज मैले के विषयमा बोल्दैछु भन्ने कुरा “सबैलाई थाहै होला ?” भन्दै भीडलाई प्रश्न गर्‍यो । भीडमा आधाले थाह छ आधाले थाह छैन भन्ने आवाज गुन्जियो । 

ऊ झन् उक्सिदै “उसो भए थाह हुनेले थाह नहुनेलाई बताइदियो भैहाल्यो त भन्दै” पानीमाथि ओबानो बन्यो । 

टोल समुदायका नागरिकले बुद्धिमानलाई भन्दै पर्दैन । अबुझलाई दुई–चार पटक भन्दा बुझी हाल्छ । कोकल्याँटोलाई चाहिँ कसैगरी सकिन्न भन्ने निचोड निकाले । 

त्यसपछि त्यो व्यक्तिलाई सबैले वास्ता गर्न छाडे । 

– गोरखा

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment