"दाजु, निधार थाप्नुहोस् त, म हजुरको चिरायुको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिन्छु ।’’ त्यो स्नेहिल वाणीको मधुर अनुगूँजले मेरो हृदयको तन्त्रीमा अकस्मात् झङ्कार उत्पन्न गर्यो । म विस्मित हुँदै नेत्र उघारेँ तर, सम्मुख कोही थिएन । केवल शारदीय शीतल समीरले गवाक्षको पर्दा हल्लाइरहेको थियो । त्यो स्वर मेरो अतृप्त अन्तस्करणको गहिराइबाट प्रस्फुटित केवल एक मृगतृष्णा मात्र सिद्ध भयो ।
बाहिर बस्तीभरि देदीप्यमान दीपमालाको आभा प्रज्ज्वलित थियो । देउसी र भैलोको सुमधुर ध्वनिले चराचर जगत्मा हर्षोल्लास सञ्चार गरेको थियो । तर, यही प्रकाशपर्वको उत्सवमा मेरो अन्तरहृदयमा भने सधैँझैँ एक अनाम रिक्तता र नीरवता मडारिरह्यो । प्रतिवेशीका प्राङ्गणमा भगिनीहरूले ओखर फोरेर तैलधाराले सुरक्षाको परिधि कोर्दा मेरो धैर्यको बाँध भत्किन खोज्यो । अरूका ललाटमा सप्तरङ्गी टीका देदीप्यमान भइरहँदा मेरो ललाट भने मरूभूमिको सिकताझैँ उराठ र रिक्त रह्यो । कण्ठमा शोभायमान हुने मखमली मालाको सौरभ केवल कल्पनाको क्षितिजमा मात्र सीमित भयो ।
प्राङ्गणको डिलमा प्रज्वलित मृत्तिकादीपले बाह्य अन्धकार त चिर्यो, तर मेरो आन्तरिक तिमिरलाई चिर्न असमर्थ रह्यो । त्यस पर्वमा पनि मैले त्यही रिक्त ललाट लिएर व्योमका नक्षत्रहरूतिर दृष्टिपात गरेँ । सायद, ती देदीप्यमान तारापुञ्जमध्ये कुनै एक मेरी अदृश्य अनुजा बनेर मलाई अनन्त आशीर्वचन प्रदान गरिरहेकी होलिन् भन्ने मधुर भ्रान्तिमा मैले आफ्नो एकाकीपनलाई सान्त्वना दिएँ ।
– बनेपा –१२, काभ्रे


No comments:
Post a Comment