रक्षा
-त्रिलोचन ढकाल
फापरथुम, स्याङ्जा
सिंहले गाउँ सखाप पारेको थियो ।
किसानमा आक्रोश जागृत हुनु स्वाभाविक थियो । उनीहरु बोल्न थाले– “सबभन्दा पहिला गाउँमा कुकुर भुक्न छोडेका थिए ।”
”अनि भेंडा र बाख्राहरु आहारा बने । खोरहरु सबै रित्तिएका छन् ।”
“फाट्टफुट्ट भएका गोरुहरु पनि समाप्त भए ।”
“मेरा त बिराला र कुखुरा समेत कराउन छोडे ।”
“भैँसी त छन् भनेर चित्त बुझाएको थिएँ । ती माथि पनि चट्टानी पञ्जा बर्सिन थाले ।”
आक्रोशले कब्जा गरेको थियो जनमन । बन्दुकहरुले काँधमा स्थान ग्रहण गरेको देखियो ।
त्यही समयमा सुट, बुट र टाई लगाएका शिक्षितजस्ता देखिने मानिसको प्रवेश भयो । उनले भने–
“ए ! पख पख !! सिंहले बाँदरबाट तिम्रो रक्षा गरेको छ ।”
No comments:
Post a Comment