Sunday, November 19, 2023

लघुकथा (अङ्क ५ मा प्रकाशित)

 सफलताको साँचो

-देवेन्द्र अर्याल ‘आँसु’
तारकेश्वर  


उमेरले लगभग साठी टेक्ने बेलामा पनि उनी त्यही पसलमा काम गर्न बसेका छन् । आफ्नो विवाहमात्र होइन छोराछोरीको विवाह पनि उनले यही पसलमा काम गर्न बसेर नै सम्पन्न गरेका थिए । त्यहाँ काम गर्न बसेको दिनदेखि उनले अन्यत्र काम गर्ने सोच नै बनाएनन् । धेरैले उनलाई भनेजति तलब दिन्छौँ हामीले भनेको ठाउँमा काम गर्न हिँड पनि भनेका थिए । यो कुरा उनका मालिकले पनि नसुनेका होइनन् ।

ताल्चासाँचोको पसलमा काम गर्ने मानिसको यत्रो प्रगति ? मानिसहरु यस्तैयस्तै कुरा काट्थे । कोही नजानेझैँ प्रश्न सोध्ने गर्दथे, ‘होइन, तपार्इं कस्तो ताल्चासाँचो बेच्नु हुन्छ हँ ? भाग्यको ताल्चासाँचो आफूसँग राख्ने अनि हामीलाई चाहिँ फलामको ताल्चासाँचो बेच्ने ?’ प्रायः पसलमा आउने उनका नियमित ग्राहकहरु यस्तै प्रश्न गर्दथे ।
उनी केही बोल्दैन्थे मात्र मुसुक्क हाँस्थे । तर ग्राहकको प्रश्नमा साहुजी जवाफ दिन्थे, ‘बुझ्नु भो, भाग्यको ताल्चासाँचो बेचबिखन हुँदैन, त्यो आफूले गर्ने काममा निर्भर हुन्छ ।’

साहुजीले लक्ष्मीमाताको तस्वीरतिर हेर्दै मनमनै भने ‘यिनी यो पसलमा काम गर्न बसेदेखि नै हाम्रो भाग्यको ताल्चा खुलेको हो । आज म जति सम्पन्न भएको छु त्यसमा यिनैको ठूलो हात छ । यिनी हाम्रो सफलताको साँचो हुन् ।’ त्यति नै बेला उनले पनि लक्ष्मीमाताको तस्वीरतिर हेर्दै मनमनै भने, ‘जुन  दिनदेखि म यिनको पसलमा काम गर्न बसेँ, त्यस दिनदेखि नै मेरो भाग्यको ताल्चा खुलेको हो, वास्तवमा मेरो सफलताको साँचो यिनै साहुजी हुन् ।’

No comments:

Post a Comment