Monday, November 20, 2023

म किन लेख्छु ? (अङ्क ३ मा प्रकाशित)


लेख्नु उतिबेला जतिबेला यसको प्रारम्भ गरेँ, रहर थियो । जिज्ञासा थियो । उत्सुकता थियो । के के न गरेँ वा के के न गर्छु होला जस्तो अज्ञात रहस्य थियो ।

उतिबेला अर्थात् ०३२ । ०३३ सालतिरको कुरा हो । विद्यालय तह सकेर कलेज पस्ने तरखरमा जीवन थियो । एउटा मुक्ति, स्वतन्त्रता र खुल्लापनको आरम्भ चरणमा थिएँ । नत्र दैनिक विद्यालय र पढाइको भार । त्यतिबेला मज्जासित घुमफिर गर्ने, खाने, मनलागी खेल्ने उमेर थियो तर उपलब्ध थिएन ।

विद्यालय तह पार गरेपछि घुमघाम गर्ने, पुस्तकालय चहार्ने, सिनेमा हेर्ने होइन नपाए हलमा पोष्टर मात्र भए पनि हेर्ने रुचि पैदा भयो । पुस्तकालय जाँदा पत्रपत्रिकामा छापिएका फोटाहरु हेर्ने, सिनेमाका कलाकारहरुका बारेमा पढ्ने, कविताकथाहरु पढ्ने, कोठेपद भर्ने, पत्रमित्रता गर्ने आफ्नो पनि नाम छापियोस् भन्ने चाहना गर्ने आदि इत्यादि रहरले लेखनतर्फ डो¥याएको हो । अझ मुख्य कुरा त आफ्नो नाम छापिएको हेर्ने उत्कण्ठाले लेखायो ।
यो उतिबेलाको कथा हो । तर अब त्यो स्थिति रहेन । अब केवल नाम होइन नामलाई एउटा उचाइ दिनु त्यसलाई सार्थक पार्नु महत्वपूर्ण कुरो हो । आफ्नो उपस्थितिको औचित्यका लागि लेख्नु आवश्यक भयो । त्यसैले लेख्छु ।

मलाई आफ्नो समयको परिवेशको कुरा लेख्नु छ । अनुभव र भोगाइको निचोडलाई आफ्नै दृष्टिकोणबाट तर अरुभन्दा फरक भएर लेख्नु छ । मलाई आफ्नो मात्र होइन अरुको कुरा पनि लेख्नु छ । त्यसैले लेख्छु ।
–भक्तपुर

No comments:

Post a Comment