Tuesday, November 21, 2023

म किन लेख्छु? (अङ्क ४ मा प्रकाशित)


 यसको उत्तर त्यति सहज छैन । एक शब्दमा बताउन पनि सक्दिनँ । तथापि प्रयासमा भने अवश्य छु । यसो भनौँ, म रहरले लेखिरहेको छु र रहर लागेसम्म लेखिरहने छु । त्यो कहिलेसम्म लाग्छ थाहा छैन । मेरो लेखाई कतिको कामयावी छ त्यो पनि जान्दिनँ । यति कुरा जान्नोस् तथापि अहिलेसम्म लेखिरहेको छु ।

मलाई लाग्छ, हरेक लेखकले लेख्ने मात्र हैन मेरो लेखाई कस्तो छ, पाठक कति छन्, उनीहरूको ममाथि मूल्याङ्कन कस्तो रहेको छ, त्यो जाँच्नु पनि आवश्यक छ । लेखक पाठकहरूको निर्देशक हैन सहयात्री हो तसर्थ यो जान्नु अति आवश्यक छ । प्रत्येक लेखकले आफ्नो मूल्याङ्कन आफैँ गर्न जान्नुपर्छ । यसो गर्दा लेखकको महत्व अझ बढ्छ ।
 
मेरो मनमा हमेशा एउटा प्रश्न उठ्ने गरेको छ, हामीमध्ये त्यसो गर्ने कति छौँ ? यो आफैँले आफैँलाई गर्ने प्रश्न हो । प्रत्येक मानिसले आफूले आफूलाई चिन्नु अति आवश्यक छ । नचिनेसम्म हामी अगाडि बढ्न सक्दै सक्दैनौँ । आज संसारमा जति पनि अगाडि बढेका छन् ती सबै आफूलाई चिनेका कारण अघि पुगेका हुन् । यसमा कुनै शङ्का र दुविधा छैन । के लेख्छौँ, किन लेख्छौँ, कसका लागि लेख्छौँ यो विषयमा हामी गम्भीर बन्नु अति आवश्यक छ ।

आजका हरेक मानिस हतारोमा छन् । चटारोमा छन् । छटपटीमा छन् । पहिले हुने ध्याउन्नाले सबैको मन छटपटिइरहेको छ । पहिलो र दोस्रो लेखन पछि पढ्ने र परिमार्जन गर्ने धैर्यता अधिकांश हामीहरूसँग छैन । हतार हतारमा छौँ किनकि पहिलो हुनु परेको छ । गुणात्मकतातिर हैन सङ्ख्यात्मकतातिर हाम्रो ध्यान आकृष्ट बनिरहेको छ ।

परिस्थिति र परिवेश जे जे भएपनि उत्तर थाहा छैन, तैपनि म लेखिरहेको छु ।  

No comments:

Post a Comment