महिला खलासी
-मित्र ‘उराठी’ गौतम
अमरपुर गुल्मीं, हालः रुपन्देही
मिठो मुस्कानसहित नमस्कार गर्दै स्वागत गरिन् ।
हामी ढोकाबाट भित्र पस्यौँ । भित्र गएर आ–आफ्नो सिटमा बस्यौँ ।
आमासँग मामाघर जाँदा र हाम्रो गाउँको घरमा जाँदा मात्र सौगात लामो बसयात्रा गरेको थियो । आज मसँग हवाईयात्रा उसको पहिलो अनुभव हो । त्यसैले पनि ऊ बढी जिज्ञासु थियो ।
सिटमा बसेपछि मैले सिटपेटी बाँधिदिएँ । उसले विमानको झ्यालबाट बाहिरको दृश्यावलोकन गर्दै थियो । यत्तिकैमा विमान परिचारिकाले हाते झोलाहरु राखेका तख्ताका पल्लाहरु बन्द गरिन् । अगाडि उभिएर विभिन्न जानकारी दिँदै सिटपेटी बाँध्ने तरिका प्रदर्शन गरिन् ।
छोरो सौगातले यो सब गतिविधि बडो ध्यानपूर्वक नियालिरहेको थियो ।
आफ्नो निर्धारित समयमा हवाईजहाज उड्यो । छोरो थोरै डराए जस्तो गर्यो । मैले उसलाई सान्त्वना दिएँ । ऊ ढुक्क भयो ।
केही बेरमा परिचारिकाले चिसो पेय पदार्थ गिलासमा भर्दै यात्रुहरुलाई दिन थालिन् । पेय पदार्थ पाएर खुसी हुँदै पियो उसले । निश्चित समयपछि विमान गन्तव्यमा पुगेर अवतरण ग¥यो । हामी बाहिरिँदै गर्दा पुनः मुस्कानसहित नमस्ते गरी बिदाइ गरिन् परिचारिकाले ।
हवाईयात्रा र परिचारिकाको व्यवहारले दङ्ग थियो ऊ ।
विमानबाट निस्किएपछि उकुसमुकुस भएको कुरा पोख्न हतारिए झैँ गर्दै सोध्यो, “बाबा के सबै हवाईजहाजमा महिला मात्रै खलासी हुन्छन्?
“हो, प्रायः सबै हवाईजहाजमा महिला मात्र हुन्छन् तर उनीहरुलाई खलासी भन्दैनन् । विमान परिचारिका भन्छन् ।“, मैले बुझाउन खोजेँ ।
“अनि किन त महिला मात्रै राख्ने गरेको?“
प्रश्नको जवाफ दिन नपाउँदै विमानस्थलको बस हामीलाई लिन विमान छेउ आइपुगिसकेको थियो ।
No comments:
Post a Comment