Saturday, February 10, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

मूल्य

-श्रीप्रसाद पोखरेल
इटहरी, सुनसरी
   


"तिमी कत्ति भाग्यमानी ।’’ भुइँमा फालिएको पुस्तकले भन्यो । 

“किन आरिस गर्छौ ? पालाको पैँचो त हो नि’’ रक्सीले भन्यो । एउटै कोठा र मालिककहाँ रहने भए पनि रक्सी पुस्तकको हैसियत फरक थियो ।

किताबले मानिसलाई विवेकी बनाउँछ तर रक्सीले विवेकहिन । किताबले सचेत, रक्सीले अचेत, किताबले मार्गदर्शन गर्छ, रक्सीले दिग्भ्रमित, तर पनि मानिस पुस्तक पढ्नभन्दा रक्सी खान चाह राख्छ । त्यति मात्र कहाँ हो र ! किताब फुटपाठबाट आधा मूल्यमा बिक्री हुन थाल्यो तर रक्सी सिसाले सजाएको दराजबाट इज्जत साथ बिक्री हुन्छ । 

“मानिसलाई यत्रो गुन लगाएको छु तर मलाई भुइँमा फ्याँकेर तिमीलाई सिसाको दराजमा सजाएर राख्छ मान्छे’’ किताबले आरिसे भावमा दराजतर्फ हेर्दै भन्यो । 

“पहिले मानिस मात्ने गरी पढ्थे र सुरक्षा साथ किताब दराजमा राख्थे । अहिले मात्ने गरी खान्छन् र रक्सी सुरक्षा साथ सिसाको दराजमा देखिने गरी राख्छन् ।’’ भन्दै रक्सी हाँस्यो । “अझ भनौँ पहिले किताबको चाह थियो चोरी हुन्थ्यो तर अहिले बरू रक्सी चोरी हुन्छ किताब हुँदैन ।’’

किताबलाई चित्त बुझेन । उसले फेरी भन्यो, “विद्वान पनि मूर्ख पनि तिमीलाई नै मन पराउँछन् त । किन ?"

रक्सीले भन्यो, “किनकी तिमी सस्तो छौ ।’’ 

No comments:

Post a Comment