आत्महत्या
-बालचन्द्र भण्डारी
पोखरा–२६, कास्की
"बाबा ककककक !’’ हृदयविदारक आवाजले म झस्कें । के भयो भन्ने सोचेर हत्तपत्त बाहिर निस्कें । मान्छेहरु गुर्रर दगुरे । म पनि त्यतै दगुरें ।
भर्खरै साँझ छिप्पिदै थियो । घरघरमा खाना खाने तयारी हुँदै थियो । भट्टीबाट मानिसहरु बाहिरिंदै थिए । बाटामा मान्छेहरु सल्याङ्मल्याङ अल्मलिए झैं लाग्थ्यो । अन्यमनस्कता ! मुखामुख गर्दै थिए छिमेकीहरु ! ए आम्मा ! के देख्नु प¥यो यस्तो? रुवाबासी थियो घरमा ! प्रहरीहरु पनि आइसकेका रहेछन् । नियमित गस्तीका प्रहरीहरु !
छोरीको रुवाइले वातावरण कोलाहलपूर्ण थियो । ‘बाबा किन यस्तो गरेको?’ छोरीको चित्कारले सबैको आँखा रसाइरहेका थिए । सम्हालिनै सकेको थिएन स्थिति भर्खर गोलभेंडा किनेर ल्याएको, के सुन्नु देख्नु परेको ! हतास देखिन्थे उनी पनि ।
‘पहिला पनि यस्तै प्रयास गरेको थियो यस्ले ! तर आज...!’ अर्को मान्छेले थप्यो ।
’सीधा मान्छे अति परिश्रमी इमानदार रक्सी त खान्थ्यो है कहिलेकाहीं ।’ कसैले भने । ‘तर रिन लागेको छ भन्थ्यो । व्यापार प्रवर्धन गर्न बैंकको रिनमा एउटा पुरानो गाडी पनि किन्यो । त्यसैको किस्ता तिर्न पनि गाह्रो भयो गाडी पनि बेच्न प¥यो, अब होटल चलाउँछु भन्थ्यो । भट्टी पनि विस्तारै चल्दै थियो । तास खेल्ने मान्छेहरु पनि आउँथे, अलि अलि रक्सी, मासु व्यापार बढ्दै थियो तर अचानक...!’ अर्कैले थपे ।
‘लोग्नेस्वास्नीको रातदिनको रडाको । मीठै खान पर्ने राम्रै लाउन पर्ने, काम केही गर्नु नाइँ ! तनावग्रस्त थियो ऊ ।’ ‘यस्ले कहिल्यै न आदर सम्मान, न माया, न सद्भाव न काममा सरसहयोग, न मिठो बोली.... अंह ! कहिल्यै शान्तिको सास फेरेन यस्ले ।’ गाईगुईँ सुनियो ।
जिउँदै हुन सक्छ भनेर लगत्तै अस्पताल दगुराइयो ! घाँटीमा डोरी लट्किरहेकै थियो । छोरीहरु र श्रीमती इन्तु न चिन्तु थिए ।
No comments:
Post a Comment