दिमागको बिर्को खोलेर हेर्दा
लघुकथाकार राजु क्षत्री अपुरोको दिमागको बिर्को नामक लघुकथा सङ््ग्रह २०७६ मा पाँचौै कृतिको रुपमा प्रकाशित यस पुस्तकका प्रकाशक विष्णुमाया घर्ती क्षत्री हुन् । यस कृतिभित्र उनले लेखेका आमाको कथा, आमाको सम्झना, आमाको मन, इमान, मितव्ययिता, समाधान, हाइवेको होटेल, छिमेकीको झगडा लगायत विभिन्न शीर्षकका ६२ वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत ६२ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्् । यस सङ्ग्रहभित्रको आमाको कथा शीर्षकको पहिलो लघुकथामा हिउँदे महिना अबेर गरेर दाउराको जोहो गर्न आएकोे म बाघको सिकार हुने डरमा थिएँँ । बाघ १२ हात उफ्रिन्छ भन्ने सुनेकी थिएँ अनुमान गरेर नापे । १३ हातभन्दा माथि नै रहेछ । लामो श्वास फेरेर केही राहत लिएँ लघुकथाकार राजुले भनेका छन् ।
उनले मनमा उर्लिएका भावलाई लघुकथाको रुप दिन सकेका छन् । इमान शीर्षकको लघुकथामा आज बिहान मर्निङ्वाक जाँँदै गर्दा उनले डेढ तोलाको सुनको सिक्री फेला पारे । उनले दाँयाबायाँ हेरे अनि टपक्क टिपेर गोजीमा हाले । त्यो बेला उनी रित्तो घाँटी लिएर हिँडेकी कचकचे श्रीमतीलाई सम्झेर मुसुक्क मुस्कुराए भनिएको छ । यस सङ्ग्रहभित्रका लघुकथाहरु आकारले मात्र होइन विषयका दृष्टिले पनि लघुकथा हुन् । उनले सामाजिक विषयका स–साना प्रसङ्गमार्फत जीवनका विविध पक्षलाई सरल ढङ्गले उजागर गरेका छन् । पाइलापाइलामा कुनै न कुुनै घटना भइरहेका हुन्छन् । ती घटनाले फरक फरक व्यक्तिमा फरक फरक सोच र संवेदना जगाउने गर्छन् ।
भाषिक सरलता राजुका कथाहरुको महत्वपूर्ण विशेषता हो । विषय र विचारगत विविधता उनको कथाहरुको मूल उद्देश्य हो । बिग्रेको छोरो शीर्षकको लघुकथामा बाआमाको समस्या कहाँ बुझ्छन् र अचेलका केटाकेटी ? आफ्नो माग राखिदिए भो भनिएको छ । राजुुले जीवनमा जुन उतारचढाव भोगे सायद तिनै भोगाइ अनुभव र सामाजिक घटना परिघटनाले अङ्कुराएको मनको भाव नै उनले लघुकथा सङ्ग्रहको रुपमा जन्माएका छन् । मनका भावहरूलाई समय र परिस्थितिले प्रभावित गर्दा जे जसो अभिव्यक्त भयो त्यही नै यस दिमागको बिर्को लघुकथा सङ्ग्रहमा सङ्कलित छन् ।
दिमागको बिर्को शीर्षकको लघुकथामा सालीले अलि नजिकिदैँ भिनाजुसँग भन्छिन् म एउटी सालीले त एकजना मात्र भिनाजुलाई सम्हाल्न यति गाह्रो भयो भने आलोपालो गरेर बेलाबेलामा आइरहने पाँच पाँचजना भिनाजु भएकी हजुरकी कान्छी बहिनी मिनालाई कति गाह्रो भयो होला नि है ? भनेकी छिन् । उनको लघुकथा लेखन यात्रा रोजगारीका सिलसिलामा मलेसिया पुगेपछि सन् २००६ को उत्तरार्द्धदेखि सुरु गर्न थालेको हो ।
थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार राजुले मनन गरेका छन् । सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानवीय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन् । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन कत्ति पनि सक्दैन । यही समाजमा रहेका सङ्गत, विसङ्गत सबै कुरासँग पौँठाजोरी खेल्नु नै पर्छ ।
जीवन जिउने क्रममा आफूले भोगेका, देखेका र सुनेका कुराहरूको सँगालोलाई शब्दरुपी गुच्छाद्वारा राजुुले ६२ वटा लघुकथाहरु तयार पारेका छन् । उनले लघुकथाहरूमा समाजका विसङ्गति, विकृति, राजनैतिक बेथितीको चिरफार गर्ने प्रयास गरेका छन् । अन्तर्मन शीर्षकभित्र नारायणकुमार पनि दर्र्शकदीर्घामा रहेर कार्यक्रम हेरेर रमाउन थाले । बीचबीचमा गायन र युगल नृत्यले कार्यक्रमलाई थप रोचक बनाइरहेको थियो राजुले भनेका छन् ।
कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूर्ण हुन्छ अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्मम विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ । अन्त्यमा लघुकथाकार राजुको अन्य कृतिहरु पनि प्रकाशित भएर हामीहरूले पढ्न पाउने बाचा गरेको छु ।

No comments:
Post a Comment