स्कुले जीवनदेखि नै जानीनजानी लेख्ने प्रयास गरियो । लेख्ने प्रयास गर्दागर्दै लेख्ने बानी बस्यो । अहिले त नलेखुँ भन्दा पनि नलेखी बस्न सक्दिनँ । प्रसवपीडाजस्तो भित्रभित्रै मनमा एकखालको पीडा, छटपटी र उकुसमुकुस भइरहन्छ । साहित्यिक तथा गैरसाहित्यिक, केही न केही लेखिन्छ । लेखिसकेपछि भने सन्चो महसुस हुन्छ । सिर्जनाको आनन्द पनि प्राप्त हुन्छ । उपलब्धि केही नभए पनि केही गरेँ भन्ने सन्तुष्टि मिल्छ ।
म किन लेख्छु ? यसको कुनै उत्तर छैन मसँग । महान लेखक बन्छु भनेर मैले लेख्न थालेको होइन । लेखेर पैसा कमाउँछु भनेर लेख्न थालेको पनि होइन । म पूर्णकालीन लेखक पनि होइन । रहरै–रहरमा लेख्ने प्रयास गरियो र लेख्न थालियो । परिवर्तनका लागि लेख्ने भन्लान् कसैले । समाज बदल्नका लागि लेख्ने भन्लान् कसैले । म त्यस्तो पनि भन्दिनँ । पूर्णतः उद्देश्यमूलक पनि छैन मेरो लेखन । तैपनि केही न केही उद्देश्य त अवश्य हुन्छन् । उद्देश्य तुरुन्तै पूरा हुने पनि होइन । तैपनि केही त लेखेँ भन्ने सन्तुष्टिले मनमा आनन्द मिल्छ । आममान्छेको भन्दा केही फरक काम गरेँ भन्ने अर्थमा गर्वानुभूति पनि हुन्छ । समग्रमा मलाई मेरो लेखनबाट सबैभन्दा धेरै आत्मसन्तुष्टि मिल्छ । म यही सन्तुष्टिका लागि लेख्छु । मेरो लेखनबाट सामाजिक परिवर्तनमा सघाउ पुगे, त्यो मेरा लागि सौभाग्य हुनेछ ।
शनिबार साहित्य
Sunday, November 19, 2023
म किन लेख्छु? (अङ्क ५ मा प्रकाशित)
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment