Sunday, November 19, 2023

लघुकथा (अङ्क ५ मा प्रकाशित)

 जुठो

- मुरारीराज मिश्र
कुमारीगाल, काठमाडौं –७ 



एकाबिहानै नातेदार बितेको खबर आयो । तेह्र दिने नाताभित्रका मान्छे बितेको खबर सुनेपछि चलिआएको चलनअनुसार जुठो बार्नै प¥यो । खबर सुनाउनेले अरु आफन्तहरुलाई पनि खबर गरिदिनु भनेकाले काकालाई खबर सुनाउन मोबाइल उठाएँ ।

मोबाइलमा नाम र नम्बर हेर्दै थिएँ, झण्डै एकवर्ष अघि जुठो सुनाउँदाको कुरा सम्झनामा आयो । त्यो दिन, यसैगरी जुठो परेको खबर बिहानै सुनेपछि आफन्तहरुलाई सुनाउने क्रममा काकालाई फोन गरेको थिएँ । काकीले फोन उठाएर भन्नुभएको थियोे ‘हरे शिव ! एकाबिहानै यस्तो खबर त नसुनाएको भएपनि हुन्थ्यो नि ! जुठो सुनेपछि कम्तीमा पनि छाक छोड्नु पर्छ । अब तिम्रा काका बिचरा, भोकभोकै अफिस जाने भए ! रोगी मान्छे, साह्रै गाह्रो हुने भो !’ यो कुरा सम्झेपछि फोन गर्न मन लागेन । सोचें अब भरे सुत्ने बेलामा मात्रै सुनाउँला ।

रात परेपछि अब त काकाले खानपिन सके होलान् भनेर फोन गरें । खबर सुनाएँ । काकाले ‘लौ त बाबु, जुठो सुनेपछि नुहाउनु पर्छ, अब खल्को हालेर सुत्छु’ भन्दै थिए, फोनमा पछाडिबाट ‘जुठो परेको जस्तो कुरो तुरुन्तै सुनाउन पर्छ नि ! हामीलाई त परचक्री पो ठान्दा रै’छन् सबैले ! हामी सोझा ठानेर हेपेका होलान्’ भन्ने काकीको आवाज सुनियो । म जिल्ल परेर सोच्न थालें – साँच्चै, जुठो सुनाउने समय कुन हो त !

No comments:

Post a Comment