Saturday, November 18, 2023

लघुकथा (अङ्क १ मा प्रकाशित)

बर्थ डे

-ढाकामोहन बराल
पोखरा ७, कास्की

 नयाँ क्यालेन्डर कोठाको भित्तामा झुण्ड्याएको थिएँ । छोराले हेर्न खोज्यो । निकालेर दिएँ । धेरै समय लगाएर हे-यो ।
“आउँदो वर्ष कति बिदा छ भनेर हेर्न लागेको हो ?
दशैं, तिहार कहिले छ भनेर हो ?

मेरो बाबुले के हेर्न खोजेको होला ?” मैले सोधेँ ।
“हैन बाबा” उसले भन्यो ।
उसले क्यालेन्डर पल्टाउँदै गयो ।

“के हेर्न लागेको त बाबुले ?” मैले उसलाई आफूतिर तान्दै मायाले सोधेँ ।
उसले मसिनो हात क्यालेन्डरमा खेलाउँदै गयो ।

गत हप्ता मात्र आफ्नो जन्मदिन मनाएको मेरो छोराले भन्यो, “मेरो बर्थ डे आउन अब कति बाँकी छ भनेर गनेको नि बाबा ।”

No comments:

Post a Comment