आधुनिकता
-बिना तामाङ 'सुनगाभा'
"साला क्या छे भने । उम्म्म ! मैले त्यस्को पनि घमण्ड चुर पारिदिएँ ।” चुरोटको खिल्ली ओठको देब्रे कुनोले च्याप्दै लाइटर सल्काउँछ आधुनिक ।
“धेर गफ नदे त ओइ । घाँस हाल्दिन त्यसले तँलाई,” नबिन चिच्याउँछ ।
“हैन भन्न सकिन्न है सोमहरु । यसले धेरैलाई आफ्नो जालमा फसाइसक्यो । त्यो मुलाङ सभ्यता के हो र । फेरि यसको थोवडा हेर न यति इनोसेन्ट देखिन्छ कि केटीहरु हुरुक्कै हुन्छन् । साला अनुहार चै देकै हो के गडले । ए साउनी खै ल्याउ त ४ वटा बियर ।” तरफदारीमा बोल्छ जोसेफ ।
“तर त्यो सभ्यता अरु जस्ती हैन है । खुब स्मार्ट छे । फेरि हाम्रो आधुनिक साँच्चिकै डिप लभमा पर्ला ।” ओपनरले बोतल खोल्दै नबिनले शङ्का व्यक्त गर्छ ।
“धत् साला यो आधुनिक हो । आधुनिकको ढुकढुकी छे आफ्नै घरवाली । यी सब युज एन थ्रो हुन् ।” बियरको घुट्कोसँगै आधुनिक घमण्डले चुरिन्छ ।
त्यतिनै खेर आधुनिकको आइफोन बज्छ ।
उस्ले नम्बर हेर्छ । बुटवलबाट भाइले कल गरेको रहेछ, “अँ भन ।”
“दाई बित्याँस भो । भाउजू हिजोदेखि घरमा हुनुहुन्न । छोरी रोएर अलपत्र छे । भन्दैथी ममी त लगेजभरि कपडा गहना हालेर जानुभो रे । साथमा तपाईंको साथी समय थियो रे ।” सासै नफेरी भाइले वेलीबिस्तार लायो ।
आधुनिकको निधारबाट चिटचिट पसिना बग्न थाल्यो । उसलाई चिसो बियर तातोपानीजस्तै लाग्यो ।
No comments:
Post a Comment