देशको माया
-घिमिरे दुर्गा
र.न.पा.१४ चितवन
एक दिन विद्यालयबाट फर्कँदै गर्दा मेरी सानी छोरीले प्रश्न सोधिन् “बाबा ! हजुरले सधैँ मलाई देशभक्ति गीतमा मात्र नाच्न लागाउनु हुन्छ । हिजो नयाँ विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रममा आँखैमा राख्छु मेरो देश गीतमा नाच्न लगाउनु भो । साथीहरूले खिस्सी गरे । उनीहरूको गीतमा कति हुटिङ भो रे ! मेरो गीतमा त हुटिङ पनि भएन रे !’’
छोरीको कुराले म एकैछिन रोकिएँ । के उत्तर दिने मसँग तत्कालीन उत्तर त थिएन । मैले छोरीलाई बोलाउँदै, “नानी एकपटक यता आऊ त, यो मेरो हात हेर ! किन बाङ्गो छ ? यो आन्दोलनमा जाँदा प्रहरीको लाठीचार्ज परेको हात हो । त्यतिबेला देश बचाउने आन्दोलन थियो छोरी । निरङ्कुश शासनको विरुद्ध तिम्रो बाबा र अरुले निकै दुःख पाएका थिए । अझ तिमीहरूले देश भक्तिको गीत गाउन नछोड है । देशभन्दामाथि कोही पनि हुँदैन । यो देशको माया गर्ने व्यक्ति नै नेपाल आमाका असल सपूत हुन् ।
देश लुट्नेहरूले लुटपाट गर्दैमा देशभक्तहरूले कहिल्यै हार खाँदैनन् ।’’
“खै त बाबा ! यो देशमा परिवर्तन ल्याउन हजुरले योगदान दिनु भो तर देश र जनताको अवस्था किन उस्तै ?’’
“नानी मेरो परिवर्तन होइन देशको हुनुपर्छ र सबै नेपालीले सुख पाउनु पर्छ । जबसम्म भ्रष्टाचार र कुशासनको अन्त्य हुँदैन तबसम्म देशमा विकास हुँदैन । अरुले जे भनुन् तर हामीले राम्रो बाटो हिँड्न छोडन हुँदैन ।’’
म लगातार बोलिरहेको थिएँ । त्यही बीचमा भित्रबाट एउटा पुरानो चन्द्रसूर्य अङ्कित झन्डा बोकेर, ‘‘हो बाबा ! म सधैं यस्तै गीत गाउँछु, आँखैमा राख्छु मेरो देश मुटुमा राख्छु मेरो देश..........!’’

No comments:
Post a Comment