Sunday, November 19, 2023

लघुकथा (अङ्क ५ मा प्रकाशित)

भाकल

-टड्कबहादुर आलेमगर
त्रियुगा नगरपालिकाः ११, उदयपुर


श्रीमतीले सुबेसँग सोधी ’तिहुन के गर्ने ?’
’सोलर उमाल्न ।’
’के भन्या, छोरी जुवाइँ आ’ रान ।’

’खोलाको पूजा गरौँ होला ।’ सुबेले श्रीमतीलाई भन्यो ।
’हुन्छ ।’

सुबेले खोलाबाटै ढुङ्गो झिकेर ठड्यायो । ढुङ्गोको टुप्पोमा सात फन्को काँचो धागोले बे¥यो । सात ठाउँमा रातो सिम्रिक दल्यो । अगाडि चप्लेटी ढुङ्गो, त्यो माथि केराको पात ओछ्याएर एक मुठी अछेता, अछेतामाथि तामाको पैसा, त्यो माथि सिम्रिक दलेको सुपारी, त्यो माथि बलेको बाती राख्यो ।

धुपाउरोबाट कोइला झिकेर धुप दिँदै बरबरायो ’हे बगरे खोला तिम्रो भाकल आज पूरा गरिरहेको छु ।’

ठूँड र खुट्टो पखालेर आठ वर्षे छोरोलाई समात्न दिएको रातो भाले समातेर, दुनोमा भिजाको अछेता, तीतेपाती झिकेर भालेको सिउरमा राख्दै बरबरायो ।
भाले टाउको निहुराएर मौन थियोे । मानौ भालेलाई थाहा भयो, एकक्षणमा चारो दिने मालिकबाटै, ऊ सेरिदै छ ।

दुनोबाट पानीको धारो झा¥यो । अझै भालेले टाउको नहल्लाएपछि ’गल्ती भए माफी दिनु’ भन्दै बरबरायो सुबे । तर भाले झोक्रेर पानीका बुँद थापिरह्यो । अन्त्ततः खोलैबाट एकअञ्जुल पानी उघाएर लगायो, पानीले सास फेर्न अप्ठ्यारो भएपछि भालेले टाउको हल्लायो ।

सुबेले ’खोलाले मान्यो’ भन्दै भालेलाई सेरन खोज्दा ढुङ्गो बोल्यो ’ए मनुवा भाकल खोलाको, भोग मलाई किन ?’
’तिमी खोलाको प्रतीक हौ ।’
’साक्षात् खोलाको छेउमा मेरो प्रतीक ?’

’ए हो’ भन्दै सुबेले खोला तिरै फर्काएर सेर्न खोज्दा खोलाले छचल्किन्दै भन्यो ’मनुवा हामी प्रकृतिलाई बलि होइन माया देउ ।’

सुबेलाई लाग्यो धरती, रुख र चराचुरुङ्गी कराउँदै छन् ’हामीलाई फूलपाती अछेता नैवेद्य र बरबखान होइन, छोराछोरीलाईजस्तै माया देओ, मान्छे हो ।’

No comments:

Post a Comment