Sunday, November 19, 2023

लघुकथा (अङ्क १ मा प्रकाशित)

सुरक्षा

-रुक्मिणी शर्मा
उदालगुडी असम

काकी आमाको छोरो रन्जन मेजर भएर सिमान्तमा पोस्टिङ्ग भएको थियो । साह्रै दुःखले हुर्काएको छोरो आज मेजर हुँदा काकीका खुट्टा भुइँमा न भाँडोमा छन् । काकी खुसी हुँदै सबैलाई खाना खुवाउन निम्तो गर्नुहुन्छ । गाउँले सबै निम्तो मान्न आए ।  उनीहरु काकीको प्रसंशा गर्दै भन्छन् “वाह ! काकी यति कष्ट गरेर पनि छोरालाई मान्छे बनाउनु भयो । बुहारी पनि साह्रै सुशील जागिरे रै’छन् ।

तपाईं त कति भाग्यमानी हौं !“ गाउँलेले तेसोभन्दा काकी भन्नुहुन्छ “हजुरहरुको आशीर्वाद र सहयोगले त होनी ...मैले एक्लै कहाँ सक्ने थिए र.. ! सबै खानपिन गरेर खुसी हुँदै आ–आफ्नो घरतिर लागे ।

तेत्तिकैमा एउटा फोन कल आयो.. “म रन्जनको साथी हुँ । उसलाई शत्रु पक्षको गोलीले घाइते पारेको छ । हामीले सेनाको अस्पतालमा भर्ना गरेका छौँ । उसको हेरचाह म गर्दैछु । भोलि उस्लाई घर लिएर हामी आउँदै छौँ ।“

यता काकीकी बुहारी गर्भवती थिइन् । खबर सुनेर अचानक बेहोस भइन् ।   काकीले हतार हतार छिमेकी एकजनाको साथ लागेर अस्पतालमा भर्ना गर्नु भयो । डाक्टर नर्स लागेर उपचार गरे, लक्ष्मीको आगमन भयो । भोलिपल्ट बिहानै झण्डाले बेरेको बाकसभित्र रन्जन घर आए ।

सम्मानको साथ दाहसंस्कार भयो । देशले एकजना देशभक्त गुमाउनु प¥यो, आमाले ममता अनि पत्नीले आफ्नो सर्वस्व । उसलाई सरकारले सहिद, परमवीर इत्यादि इत्यादि उपाधिले सम्मान ग¥यो । तर के गर्नु ऊ त अब नफर्किने बाटोमा गयो ।

अब काकीलाई चिन्ता पस्यो, यो भर यौवनकी बुहारी..., अर्को बिहेको कुरा सोचौँ भने काखमा स्यानी नानी । दिनरात एउटै कुराले मुटु कटक्क खान थाल्यो । एकदिन जे हुन्छ हुन्छ भनेर कसैले थाहा नपाई अफिसमा गएर अर्कै ठाउँमा बुहारीको सरुवाको लागि आवेदन गर्नुभयो । सरुवा मन्जुरी भयो । मनमा अनेक कुरा खेलाउँदै पसलमा पसेर एक बट्टा सिन्दुर र पोतेको झुत्तो ल्याएर थपक्क बुहारीलाई लगाइ दिनुभयो । बुहारी आत्तिएर रुन थालिन् । तब उनलाई काखमा राखेर सुमसुम्याउँदै सम्झाउनु हुन्छ छोरी “यो दुनियाँ स्वार्थी छ । यहाँ सिनो खोज्दै हिँड्ने गिद्धहरुलाई चिन्न गाह्रो पर्छ मलाई माफ गर ल... !“

No comments:

Post a Comment