अन्धोमन
-मनोहर पोखरेल
राजविराज, सप्तरी
पट्याक गरेको आवाजले ध्यान खिचियो मालिक्नीको । “फुटा, फुटा.. सबथोक फुटा, बाँकी केही नराख“ मालिक्नी कराउँदै भित्र पस्दा कैलु देखा प¥यो ।
होस् गायब भएको कैलुको मुहार देखेर उनी आगो भइन् । कैलु बोल्न खोज्दै थियो । मालिक्नीले कपाल भुत्ल्याउँदै घुमाइन् । नोकर भएर उपद्रव गर्ने भन्दै बेस्सरी चड्कन लगाइन् । त्यसपछि कैलुको पूरा खानदानलाई पाँडे गाली गर्न थालिन् ।
कुटेर फत्फताउँदै बाहिरिँदा ढोकाको चेपमा छोरालाई लुकेको देखिन् । छोराको पैतालाबाट रगत बगिरहेको थियो । आवाज आएको बेला एकै दाँवलका छोरा र कैलु कोठाभित्र टिभी हेरिरहेका थिए ।
सुक्कसुक्क रुँदै छोराले भन्यो, ‘सरी मामू ! हामी सिनेमा हेरिरहेका थियौं, हिरोले कराते हानेजस्तै गरेर मैले खुट्टा उज्याउँदा झुक्किएर सिसा फुट्यो ।’ फुटेको सोकेस हेरिन् र छोरालाई मुसार्दै मालिक्नीले भनिन्, ‘फुट्न देऊ नाथे सिसा । बरु तिमीलाई पो धेरै चोट लागेछ ।
उत्तिखेरै उनले कैलुतिर नजर लगाइन् । उसलाई फुटेको सिसाका टुक्रा टिपिरहेको पाइन् । उनले मायालु बोलीमा भनिन् –“कैलु, हुन्दे म आफैं सफा गर्छु । तँ सानै छस् । तेरो हात काट्न सक्छ ।“ मालिक्नीको क्रोध करुणामा परिणत भए पनि कैलुले कामलाई निरन्तरता दिइरह्यो । उसको अटेरीपनले आमालाई झन् पानी बनायो । उनले थपिन् –“तैँले समयमै मैले हैन भन्नुपथ्र्यो नि !
कैलु भुत्भुताउँदै थियो– “धनको लोभले अन्धा भएकाहरुले मन पनि अन्धो बनाएपछि कसको के लाग्छ र ?“
No comments:
Post a Comment