स्मृति
-विनोद नेपाल
पोखराथोक, माडी, पाल्पा
स्मृतिदिवस मनाइँदै थियो ।
‘ए... यिनै हुन् ?’
सामुन्नेको टेबुलमा रहेको फूलमालाले ढाकिएको तस्बिर हेर्दै आश्चर्य मिश्रित भावमा युवकले भन्यो । सुनेर नजिकै रहेका एक वृद्धले भने, ‘हो यिनै हुन् हाम्रा नेता, उहिले यस्तो कहाँ थियोे र ?’
‘के भन्नुभो बा, बुझिन’ युवकले भन्यो ।
‘जोखिम थियो, सरकारी निगरानी उस्तै कडा, भेट्यो कि झ्याप्प पारिहाल्थे, कहाँ लान्थे, के गर्थे थाहै हुँदैनथ्यो, लुकिलुकी सङ्गठन गर्नुपथ्र्याे, तर त्यस्तो समयमा पनि यिनले सबै चाँजोपाँजो मिलाएका थिए, संगठन बलियो बनाएका थिए’ ‘अनुशासन थियो, मर्यादा थियोे.....’ वृद्धले भन्दै गए ‘अहिले त सबै लथालिङ्ग, यिनका आदर्श धुलिसात भए, विचार, सिद्धान्त सबै हराए, सबैका आफ्नै धुन आफ्नै सुर, के भन्नू, सबै उस्तै उस्ता, कसलाई दोष दिनु खै ?’ वृद्धले निराश हुँदै भने ।
‘ए.. बल्ल कुरो बुझें बा, तस्बिर किन यति धेरै फूलमालाले ढाकियो भनेको त उनको सामु अनुहार देखाउन लायक कोही रहेनछन् र पो ?’
No comments:
Post a Comment