आस्तिक
रासा
गौरीघाट, काठमाडौँ
ऊ घरमा सबेरै उठ्छ / नित्य–कर्म गर्छ / नुहाउँछ / अगरबत्ती बाल्छ / पूजा गर्छ । अनि मात्र, खानपिनतिर लाग्छ । यद्यपि ऊ हन्तकाली हो ।
ऊ मन्दिर धाउँछ / पूजा–पाठ गर्छ / धूप–बत्ती बाल्छ / दान–दक्षिणा दिन्छ । यस अर्थमा ऊ धार्मिक छ / आस्तिक छ । यद्यपि ऊ मांसाहारी हो ।
एक बिहान । ऊ आफ्ना दिवंगत मातापिताको तस्बिर सामु दुई हात जोडेर केही मन्त्रोच्चारण गर्दै थियो । अचानक तस्बिरबाट फुत्त निस्केर उसका पिताले गाली गरे, ’तँलाई फटाहा ! बाँचुञ्जेल हामीसँग झगडा गरेर बसिस्, सताइस्, दुःख दिइस् । अहिले स्वाङ पार्छस्, हाम्रो पूजा–अर्चना गर्छस् । मर्न नसकेको असत्ती !’ दिवंगत पिताको गाली सुनेर ऊ तर्सियो, र त्यहाँबाट ओझेल पर्यो ।
अद्यपि ऊ आफ्नो नियमित कर्ममा दत्तचित्त छ ।

No comments:
Post a Comment