नेपाल बन्द
-मनोज रानाभाट
तनहूँ भानु-२
नेपाल बन्दको दिन थियो । आन्दोलनकारी माइकिङ गर्दै नारा जुलुसकासाथ अघि बढिरहेका थिए । फाट्टफुट्ट खोलिएका साना तिना पसलहरु धमाधम बन्द हुँदै थिए । बन्द नगर्नेलाई जबर्जस्ती बन्द गराइँदै थियो । बजारको चोकमा टायर बाल्ने कार्यक्रम थियो । चिसो टायर नबलेपछि बाल्नका लागि मट्टीतेल खोजियो तर सबै पसलहरु बन्द भइसकेका थिए । पसल बन्द गरी अगाडि उभिरहेका एक पसलेलाई पसल खोली मट्टितेल दिन आग्रह गरियो ।
तर उनले नेपाल बन्द भएकोले पसल नखोल्ने विचार व्यक्त गरे । मट्टितेल नदिएमा पसल फोडिदिने धम्की दिइयो, अन्त्यमा बाध्य भई पसल खोली मट्टितेल दिए । एकछिनपछि चोकमा आगो दन्किन थाल्यो । त्यसपछि ’पसल, उद्योग व्यवसाय तथा यातायात बन्द गरौं, नेपाल बन्द सफल पारौं’ भन्ने नाराका साथ जुलुस अगाडि बढ्दै थियो ।
No comments:
Post a Comment