बोहनी
-ललिता ‘दोेषी’
बुद्धनगर, काठमाडौँ
"ए साहूनी ! साहूनी !” तलबाट एकोहोरो आवाज आयो ।
पारुको श्रीमान्ले अलि ठूलो स्वरमा भने— “ए पारु, तिम्रो बोहनीवाला भाइ आयो । छिटो जाऊ नत्र कानको जाली नै फुट्ने गरी कराउन छोड्दैन ।”
सासूले कुरा थपिन्— “यो बोहनी हो कि, सोनी वाला मोराले पनि मासु नै खाइसक्यो भन्या ! सधैँ गत न पतको तरकारी भिडाउँछ । सुधो गाई पाएको छ अनि किन नलुटोस् त ? आज केही नलिए पनि केही लछार्दैन । मैले भनेको टेर्ने भए पो !”
सासूको कुराको वास्तै नगरी पारु हतारहतार बाटोमा गइन् । तरकारी बेच्ने भाइले सधैँ भन्ने कुरा दोहो¥यायो— “हजुरले बोहनी गरेको चीज त छिट्टै बिक्री भै जान्छ हजुर ! हिजो हजुरले प्याजको बोहनी गरिजानुभएको थियो । उसो त एउटा दिदीले दस किलो लिई जानुभयो । अरुले पनि त्यस्तै लिए । हजुरको हातमा त भगवान्कै बास छ हजुर ! आज रामतोरियाँ बोहनी गरिदिनुप¥यो हजुर !”
पारुले उत्तर दिइन्— “भाइको बोहनी गर्दागर्दा मेरो घरमा तरकारीको थुप्रो भइसक्यो । रामतोरियाँ मेरो सासूलाई मन पर्दैन भन्ने थाहा छँदाछँदै । ल घिरौला दिनुहोस् ।”
तरकारी बेच्ने भाइले जिद्धी गर्दै भन्यो— “थोरै रामतोरियाँ बोहनी गरिजानुहोला हजुर ! त्यसपछि हजुरको जो चाहिन्छ लिइजानुहोला ।”
पारुले ‘ल त ल’ भन्दै रामतोरियाँ र घिरौला लिइन् । ऊ ‘हजुरको जय होस्’ भन्दै बोहनीको पैसा ढोगेर राख्दै गयो । केही बेरपछि पारु पसलमा गइन् । पसल जोडिएकै घरनजिकबाट त्यही तरकारी बेच्ने भाइको आवाज पसलसम्म पनि आइरहेको थियो— “हजुरको हातबाट गरेको बोहनी बहुत बडिया होइजान्छ हजुर ! रामतोरियाँको बोहनी भएकै छैन । आज रामतोरियाँको बोहनी हजुरको हातबाट......।”
No comments:
Post a Comment