गणतन्त्र
ललिता ‘दोेषी’
बुद्धनगर, काठमाडौँ
मनले भने— ‘‘हैन बाबा, हजुरलाई के भएको छ ? अस्तिदेखि नुन खाएको कुखुराजस्तै हुनुभएको छ ?’’
घनश्यामले आँसु झार्दै भने— ‘‘खोइ के भनौँ बाबु, धमिराहरुले देशको बचेखुचेको थोरै इज्जत पनि माटोमा मिलाए । यो पापी गणतन्त्र ल्याउन ज्यानको बाजी लगाएर लडेँ । मलाई गोली लागेको सुनेर तेरी आमा हृदयघात भएर सदाका लागि निदाई । म यही दिन देख्न बाँचेको रहेछु । मेरी प्यारीलाई र यो हात गुमाउँदाको चोटले पलपल मरिरहेको छु ।
त्यसमाथि आज सारा नेपालीको शिर झुकेको सम्झिँदा मुटुमा वज्र लागेझैँ भएको छ । त्यत्रा सम्पन्न नेताहरुले भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनेर नेपालीबाट कुन मुटुले पैसा हसुर्न सके होला ? यो खुल्लमखुल्ला मान्छेको व्यापार हैन त बाबु ? म त जताततै केवल अँध्यारो मात्र देख्छु । थुप्रैले बलि दिएर ल्याएको गणतन्त्रमा सुशासनको छनकसम्म छैन अनि कसरी हाँसू, तँ नै भन् ?’’
अमितले पनि आँखाभरि आँसु पार्दै उत्तर दिए— ‘‘त्यो त हो, उनीहरुको घृणित कर्म देख्दा हाम्रो पनि मुटु चिरिएको छ नि बाबा ! यसरी हजुरले खान, सुत्न छोड्दैमा देश बदलिँदैन । व्यवस्था नराम्रो होइन, व्यक्ति भ्रष्ट हुन् । हजुरले जसरी गणतन्त्र ल्याउन कलम चलाएर चेतना छर्नुभयो । होस्टेमा हँैसे भन्नुभयो । गणतन्त्रको तानाशाह प्रवृत्ति देखेपछि विक्षिप्त हुँदै कलम नै बन्द गर्नुभयो । अहिलेको चुनावमा देशले केही राम्रा नेता पनि पाएको छ । उनीहरुको हौसला बढाउन र भ्रष्टको दोहोलो काढ्न बन्द कलम खोल्नुहोस् । अरु म के भनौँ ?’’
घनश्यामले बगिरहेको आँसु पुछ्दै बन्द कलम र कपीलाई खोली एकोहोरो कलम चलाइरहे ।
तिम्रा तिखातिखा चुच्चा
नच्यातेर हो नि !
पङ्ख फिँजाइ उडेका छौ
पापी, भ्रष्ट, खुनी
उखल्नेछौँ सबै पङ्ख
झार्छौं तलतल
त्यसपछि बग्ला नदी
गर्दै कलकल ।
No comments:
Post a Comment