Tuesday, November 21, 2023

लघुकथा (अङ्क ३ मा प्रकाशित)

छाउगोठ

-हरिगोविन्द भोमी
चाबहिल, सरस्वतीनगर


उनलाई आफ्नी छोरीको चरित्रमाथि शङ्का लाग्यो । अघिपछि महिनैपिच्छे दुईचार दिन छाउगोठमा सुत्न जान्थी । तर, दुईतीन महिनादेखि जान छोडी । छोरीको महिनावारी रोकिएको कुराले उनलाई निकै पिर प¥यो । बेलुका उनले लोग्नेलाई भनिहालिन्, “तपाईंलाई घरको केही वास्ता छैन । न त छोरीको नै कुनै चिन्ता छ ?”  “के भो ?” लोग्नेले कुरो नबुझेर सोध्यो । उनले लोग्नेसामु गुनासो पोखिन्, “छोरीको महिनावारी नभएको तीन महिना भइसक्यो बुझ्नुभो ?” पत्नीको कुरा सुनेर ऊ झस्कियो ।

त्यसपछि छोरीलाई बोलाएर भन्यो, “तेरो महिनावारी कसरी रोकियो हँ? भन कोसँग पल्किस् ? मेरो महिनावारी रोकियो भनेर तपाईंलाई कसले भन्यो बुबा ? छोरीले निर्धक्क भएर प्रतिप्रश्न गरी । तँ किन ढाँट्छेस् हँ ?” आमाले पनि छोरीलाई झपारिन्, मलाई थाहा हुन्न र ? तीन महिनादेखि तँ छाउगोठमा सुत्न गएकी छैनस् ।” एक छिन त छोरीले केही बोलिन । उसलाई भनूँ कि भयो । कुरो कति लुकाउने ? अनि उसले आमा र बुबाको मुहार पालैपालो हेरी । दुवैको मुहारमा रिस र क्षोभ झल्किएको प्रष्ट देखी । तर, उनी विचलित भइन । बरु निडर भएर आफ्नो भावना पोखी, “छाउगोठमा सुत्न डर लागेर नसुतेको होइन । छाउगोठमा सुत्नु सुरक्षित नभएर नसुतेकी हुँ । छाउगोठमा सुत्दा मेरी साथी नुवा सर्पले टोकेर मरी । खोलापारिकी कमला छाउगोठमा सुत्दा चिसोले कठ्याङ्गिएर मृत्युवरण गरी । लक्ष्मी त बलात्कृत नै भई । फेरि छाउगोठमा सुत्नु स्वास्थ्यको लागि उपयुक्त पनि छैन, बुबा । एक दिन मैले रेडियोबाट पनि सुनेँ । महिनावारी हुनु कुनै अपवित्रता होइन । त्यसैले छाउगोठमा सुत्न नगएकी मात्र हुँ ।” छोरीको कुरा सुनेर दुवै रिसाए, “अनि हामीलाई भन्न पर्दैन त । घर अपवित्र भो होइन ? छोरीले भनी, “त्यसो होइन बुबा आमा, महिनावारी हुँदा घरमै सुते भने देवीदेवता रिसाएर अनिष्ट गर्ने, लोग्नेमान्छेलाई छुनै नहुनेजस्ता भनाइ अन्धविश्वास मात्रै हो । यो सबै आधारहीन र अवैज्ञानिक प्रचलन मात्र रहेछ । महिनावारी हुनु त महिलाहरुको नियमित प्रक्रिया हो ।” छोरीको कुरा सुनेर ट्वाँ पर्दै बाउले बुढीको अनुहार हेरिरह्यो ।

No comments:

Post a Comment