तिमी पुरुष
-सीता शर्मा
व्यस्त सडक छेउको एउटा सानो गल्ली, नजिकै चिया पसल, एउटा टेबुल, स्टोप, दुई÷चारवटा भाँडाकुडा, छेउमा सानो बेन्च, वास यति नै थियो त्यो ठाउँको अस्तित्व तर मेरो विधवा अधवैंसे आमा अनि रुप र यौवनको महत्व हुँदाहुँदै पनि जुठो भाँडा माझ्दामाझ्दै मैले नै बिर्सिएको मेरो जवानी, हो यो पनि सबैको चासो र चियाको घुट्की निल्ने राम्रो माध्यम थियो । मेरो चिया पसलमा कोही हाम्रो आमा. छोरीको गरिबीलाई चिहाएर जान्थे, कोही मसँगै नजिकै बस्न, गफगाफ गर्न चियाको नाटक गर्थे, कोही भने एक कप चिया हातमा लिएर झमक्कै साँझ पर्खाउँथे तर एकजना यस्तो ग्राहकलाई मैले नजिकैको आफन्त बनाउन पाएको थिएँ । ऊ धेरै भलादमी र भद्र थियो । हरतरहले सम्पन्न पनि । ऊ प्रत्येक दिन बाटो नबिराइकनै पस्ने गथ्र्ये, जताबाट हेरे पनि कस्तो मेरी छोरी मिन्टु जस्तै छौ तिमी, ऊ बाहिर पढ्न गएकी छे, मलाई त मेरो मिन्टुको याद भुलाउने अर्को छोरी गएकी छौ तिमी । उसको यी भनाइले मलाई मृत बाबुको सम्झना गराउँथ्यो तर संसार कति स्वार्थी छ । त्यो कुनै दिन थियो साँझ छिप्पिँदै गयो । मेरो एक्लोपनको फाइदा उठाउन उसको पुरुषार्थ यति लाचारी देखिन्थ्यो कि आफ्नो अगाडि सित्तैंमा पाएको वस्तु उपयोग गर्न ऊ हतार देखिन्थ्यो । मैले अस्तित्व रक्षाको लागि बाध्य भएर उम्लँदै गरेको चियाको भाँडो टाउकोबाट खन्याई दिन लागें, ऊ हतारमा त्यहाँबाट भाग्यो, सायद त्यो नजिकैको बाटोलाई पनि ऊ अब कहिल्यै फर्केर हेर्दैन होला । छि........ तिमी पुरुष
No comments:
Post a Comment