हलो क्रान्ति
-गोम विक्रम
कल्लाबार, पाल्पा
"मेरो रोपाइँ उतार्दिन पर्छ है हरिकृष्ण तैंले यसपाली ?” ठूलारे साहुबाले आदेशात्मक शैलीमा भने । आँगन छेउमा बसुलाले हलो मिलाउँदै गरेका हरिकृष्णले कटाक्ष गर्दै भने, “तपाईंका बाजेले पनि हलो समाएका होइनन् र उतिबेला ? नातिले फेरि हर्वा खोज्दै हिँड्नु भा’छ त ?”
उतिबेला अर्थात् हलोक्रान्ति चल्दाताका ’जसको जोत उसकै खेत’ भन्ने आवाज थियो । अलिकति जिमिदारी र हरुवाचरुवा भएकाले खाइदेलान् भन्ने डरले ठूलारे खलकले पनि जोतेका रहेछन् । एकछिन गमेर हाँस्दै साहुबाले भने, “बाजेको पालाको कुरा नातिसम्मिन आउँदा पनि लागू हुन्छ र?”
“उहाँहरुले अनौ मात्र छुनु भारैछ, सारातिर डङ्का पिटिएछ । त्यसपछि कहिल्यै हलो समाउनु भएन । गहतको झोलमा जात फाल्नु मात्र ।”
“होइन गाउँलेले भातभान्छा, पानीसमेत बारे, नाताकुटुम्बले वर्षौसम्म आँगन कुल्चेनन् भन्नुहुन्थ्यो हजुर्बा । बरु चलाखी गरेर सबैलाई सहभोज खुवाएर जोगिनुभएछ ।”
इतिहासमा पनि तोयनाथ अधिकारीको नेतृत्वमा शेषकान्त अधिकारी, हरिभक्त अधिकारी, मायानाथ पौडेल लगायतका २७ जनाले वि. सं. २००६ साउन ११ मा लमजुङ्ग दुराडाँडाको बाटेगरामा ’हलो जोत्ने अभियान चलाएर राणाशासकलाई चुनौती दिएका रहेछन् । बुर्जुवा ब्राह्मणवादको विरुद्धमा समताको सन्देश दिँदै क्रान्तिमा होमिने थुप्रै किसानहरु जेल परेका रहेछन् । पछि अन्य ठाउँमा पनि ‘हलो क्रान्ति’को लहर चलेको देखिन्छ ।
“हलो क्रान्तिमा अगुवाइकै कारण पछि उहाँहरु सत्ता र शक्तिमा पुग्नु भो ।” ठूलारे साहुबाले पुख्र्यौैली इतिहास सुनाउँदै थिए ।
हलोमा करुवा ठोक्दै हरिकृष्णले भने, “शास्त्रमा बाहुनले हलो जोत्नै हुँदैन भनेर कतै लेखिएको छैन । ब्राह्मणहरुले कृषि, व्यापार, सैनिक सेवा, प्रशासनतिर लाग्नु हुँदैन भनियो । ज्ञानको बाटो छोडेर अर्थोपार्जनमा नभुलून भनेर अनुशासनमा राख्न त्यसो भनिएको थियो । हलीको अभावले अभियानमा हलो समातेकालाई ‘हर्वा बाहुन’ भन्दिए । हलो जोत्दैमा बहिष्कार गरिनु ब्राह्मणबाहेक अन्य जातिले पनि जोताउनु गरिबमाथिको शोषण भएन र ?”
बुर्जुवा इतिहास, कुरीति, कुप्रथा पल्टाउने क्रान्तिको नाउँमा तिनै किसानमाथि सर्वहाराका नेताहरु हावी भएका छन् । हलो क्रान्तिमा अनौ समाउनेहरु अहिले कुर्सी समाएर बसेका छन् । किसानका कैयौ समस्या छन् । हामीले यो ग¥यौ उ ग¥यौ भन्दै मीठा भाषण गर्छन् । समस्या जस्ताको तस्तै । हरिकृष्णले गुनासो पोखे, “हलोले चपरी पल्टियो, सत्ता पल्टियो, नेताहरुको हैसियत फेरियो तर जनताको जीवनस्तर भने कहिल्यै पनि फेरिएन ।”
No comments:
Post a Comment