Tuesday, December 5, 2023

लघुकथा समाचार

नआलमको प्रथम साधारणसभा सम्पन्न
दुई दर्जन बढी सर्जक/पाठक सम्मानित

 – वसन्त अनुभव

चितवनको राप्ती नगरपालिकाको डडुवास्थित जुमेरा होटेल एण्ड लजमा स्रष्टा सम्मान, लघुकथा वाचन, सांस्कृतिक प्रदर्शनी तथा संस्थाको प्रथम साधारणसभा भव्यरूपमा सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्च (नआलम)को आयोजनामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामाले गर्नुभएको थियोे ।

कार्यक्रममा लघुकथाको क्षेत्रमा विशिष्ट योगदान पु-याउनुहुने दुई दर्जन हुने वरिष्ठ समालोचकहरू डा. विदुर चालिसे, डा. शंकरप्रसाद गैरे र लक्ष्मण अर्याललाई लघुकथाश्री समालोचक सम्मान २०८०’ बाट सम्मान गरिएको थियो । त्यस्तै वरिष्ठ साहित्यकार डा. शेखरकुमार श्रेष्ठलाई लघुकथा कृति ’बोकाको खुसी’को लागि ’लघुकथालय पुरस्कार– २०८०“ बाट सम्मान गरिएको थियोे ।

लघुकथाको क्षेत्रमा विशिष्ट योगदान दिनुहुने युवा लघुकथाकारद्वय वसन्त अनुभव र ज्यो. नानी बिवुलाई ’हेमलता स्मृति लघुकथा सम्मान २०७९’ बाट सम्मान गरिएको थियोे । त्यस्तै युवा लघुकथाकारद्वय अनु विज्ञाति र अनुग्रह राना मगर ’पुष्प’लाई ’हेमलता स्मृति लघुकथा सम्मान–२०८०’ बाट सम्मान गरिएको थियो ।

सो अवसरमा सालभरिमा सबैभन्दा बढी गुणात्मक लघुकथा लेख्ने लघुकथाका सर्जकहरूलाई ’वर्ष लघुकथाकार–२०७९ र ८०’ बाट सम्मान प्रदान गरिएको थियो । २०७९ मा प्रथम हुने डा. विदुर चालिसे, द्वितीय– गंगा खड्का र तृतीय– तुलसी पण्डितलाई सम्मान गरिएको थियो । त्यस्तै २०८० मा प्रथम हुने अरुणबहादुर खत्री ’नदी’, द्वितीय– डा. विदुर चालिसे र तृतीय– धनराज गिरीलाई सम्मान गरिएको थियो ।

यसैगरि वर्षभरि सबैभन्दा बढी लघुकथा पढ्ने पाठकहरू मध्ये ’वर्ष पाठक–२०७९’ बाट प्रथम– अनन्तराज उपाध्याय, द्वितीय– दुर्गा अधिकारी ’पैरवी’ र तृतीय– टङ्कबहादुर आले मगरलाई सम्मान गरिएको थियो । त्यस्तै वर्ष पाठक–२०८० बाट सुरेश कुमार पाण्डे–प्रथम, दुर्गा अधिकारी पैरवी– द्वितीय र हरी उपाध्याय– तृतीयलाई तथा ’वर्ष उत्कृष्ट पाठक–२०७९ र २०८०’ बाट ज्योति खड्का पाण्डेलाई नगदसहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा ’आधुनिक नेपाली लघुकथाको परिचर्चा समेत गरिएको थियो । परिचर्चाकारद्वय वरिष्ठ साहित्यकार, समालोचक डा. विदुर चालिसे र गोपाल अश्कले आधुनिक नेपाली लघुकथाको चर्चा गर्दै लघुकथासँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण साहित्यकार डा. शंकरप्रसाद गैरेले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवम् राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामा, तथा सम्मानित विशिष्ठ अतिथि एवम् साहित्यकारहरू डा. विदुर चालिसे, गोपाल अश्क, लक्ष्मण अर्याल, वसन्त अनुभव र अनु विज्ञातिले छोटो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा धौलागिरी नौमती बाजा समूहको बाजा, मगर जातिको कौडा नाच, थारू जातिको डम्फु नाच, झाम्टा नाच, हरेराम हरेकृष्ण कीर्तन मण्डलको हार्मोनियम भजन तथा झाँकीहरू प्रदर्शन गरिएको थियो ।

उक्त अवसरमा साहित्यिक स्रष्टाहरू डा. शंकरप्रसाद गैरे, लक्ष्मण अर्याल, डा. हिमलाल श्रेष्ठ, कल्याण पन्त, वसन्त अनुभव, अजित आचार्य, रमेन्द्र कोइराला, विष्णु पन्थी विनु, होम प्रसाद नेउपाने, अनु विज्ञाति, सीता रेग्मी, शारदा दाहाल भण्डारी लगायतले लघुकथा वाचन गर्नुभएको थियो ।

कार्यक्रम दोस्रो सत्रमा सम्पन्न प्रथम साधारणसभाले पुनः घनश्याम डल्लाकोटी ’कृष्णजी शर्मा’को नेतृत्वमा नमस्ते आधुनिक लघुकथा मञ्चको सात सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । सभाले सचिव वसन्त अनुभवले प्रस्तुत गर्नु भएको साङ्गठनिक एवम् प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष यमुना प्रधानाङ्ग ’मुना’ले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पास गरेको थियो । कार्यक्रम नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ’कृष्णजी शर्मा’ को अध्यक्षता, सचिव वसन्त अनुभवको स्वागत मन्तव्य तथा पत्रकार कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


No comments:

Post a Comment