Saturday, February 10, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

छायाँ कवि

-सुमन ‘शिरीष’ पोखरेल
सिरानचोक गा.पा.–४, गोरखा    


अमित साहित्यमा राम्रै दख्खल राख्दथ्यो । कहिलेकाहीँ कविताहरु पनि कोर्ने गर्दथ्यो । एकपटक उसले आफ्नी श्रीमतीलाई अनौठो ‘सरप्राइज’ दिने विचार ग¥यो । राष्ट्रिय कविता प्रतियोगिताको आयोजना हुँदै थियो । श्रीमतीलाई थाहा नै नदिइ उनको नाममा प्रतियोगितामा कविता पठाइदियो । कविता वाचनको लागि चयन भयो । उसको श्रीमतीले प्रतियोगितामा कविता वाचन गरिन् । प्रतियोगितामा कविता प्रथम भयो । अब राष्ट्रियस्तरका साहित्यिक पत्रपत्रिकाहरुमा उसको श्रीमतीका कविताहरु धेरै माग हुन थाले । श्रीमती चाहिँले लेख्ने गर्दैन थिइन् तर कविता प्रतियोगितामा प्रथम भएर त्यत्रो नाम चलिसकेपछि उनले पनि साहित्यमा थोरै भएपनि अभिरुचि राख्न थालिन् । उनले पत्रपत्रिकामा आफ्ना नाममा दर्जनौँ रचनाहरु प्रकाशित गर्न थालिन् । पछि उनले आफ्नै साहित्यिक कृतिहरु पनि प्रकाशित गरिन् र देश विदेशमा सबैतिर चर्चित साहित्यकारको रुपले परिचित भइन् । 

उनले नामसँगै दाम पनि कमाउन सफल भइन् । तर यसको पछाडिको सम्पूर्ण हात भने अमितको नै थियो । उसको श्रीमतीले त एउटा अक्षर पनि कोरेकी थिइनन् तर पनि उनी सफल साहित्यकार कहलाइन् । जो साँच्चै नै सक्कली कवि थियो ऊ सधैँ ओझेलमा नै रह्यो । श्रीमतीकै नाममा साहित्य लेखेर ऊ सधैँ छायाँकवि भएर नै सन्तुष्ट रह्यो । वास्तवमै अमितकी श्रीमती सफल हुनुमा उनको पछाडि कसको छायाँ उभिएको थियो कसैले हेक्का नै राखेनन् । 

No comments:

Post a Comment