Friday, February 9, 2024

म किन लेख्छु ? (अङ्क ९ मा प्रकाशित)


प्रश्न सरल लाग्छ । तर जति सरल लाग्छ, त्यति नै उत्तर जटिल छ । अरुलाई सोध्न सजिलो हुन्छ आफूले सामना गर्न मुस्किल पर्छ । पर्दोरहेछ । किन लेखिन्छ होला? खासमा लेख्नु, लेखन र विधामा भर पर्दछ । साहित्यिक सिर्जना मात्र लेखन होइन, अखबारी लेखन तथा पाठ्यपुस्तक लेखन लेख्नुसँग सम्बन्धित छ । यस दृष्टिले लेखनकर्म आजीविकाको स्रोतजस्तो देखिन्छ । लेखनले जीवन चलाउन थोरैले मात्रै सकेको भेटिन्छ । 

सुरुवातमा पत्रपत्रिकामा छापिँदा रमाइलो लाग्थ्यो । साथीभाइले प्रतिक्रिया दिँदा झनै खुसी लाग्थ्यो । निरन्तर कुनै न कुनै छापामा आफ्ना सिर्जनाले ठाउँ पाउँदा हौसला थपिँदै जान्थ्यो र लेखन वा सिर्जना जारी रहन्थ्यो । मलाई लाग्दछ मेरा समवयी धेरैले यसरी नै लेख्न थालेका हुन् । लगभग साढे तीन दशक अवधि पुगेको मेरो लेखन यात्रामा नगण्य लेखकस्वबाहेक आजीविकाको जोहो हुन सकेको छैन । त्यसैले, म किन लेख्छु भन्ने सवालको जवाफ खोज्न सकेको छैन । कृति प्रकाशनको हुटहुटी पनि नलागेको होइन । आ-आफ्नै खर्चमा एउटा संयुक्त कृति निकालियो र रहरै रहमा सर्जक भइटोपलियो । दुई दशकअघिको रहरे कृतिले मलाई त्यहीँ छोडेर अघि बढेको छ । सिर्जनाको झोक्का पनि जिम्मेवारीको पहाडले छेकिएको छ । लेखनले न आत्मसन्तुष्टि दियो, न कुनै उपार्जनमा सहायक बन्यो, न त देशकाल परिस्थिति अनुकूल बन्न सघाउँदै छ । तैपनि, लेख्ने जमर्को नगरिरहन कहाँ सकिँदोरहेछ र !

No comments:

Post a Comment