Saturday, February 10, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

धर्म परिवर्तन

-ओम बस्नेत
नाम्ली/तुम्लाबुङ्ग सिक्किम   



मातृका प्रसादले वर्ष दिनपछि पाईपाई पैसा जोगाएर बल्ल एउटा नयाँ जुत्ता किनेछ । धेरै दिन भइसकेको थियो मनकामनादेवीको दर्शन गर्न नगएको पनि । 

आज शनिवारको दिन उनी मन्दिर गए । मनकामनादेवीले इच्छाइएको पूरा गरिदिन्छ भन्ने कुरा सुनेका मातृकाले पनि न केही त माग्नु पर्छ भन्ने ठानेर देवीको दर्शन गर्दै उभिएरै मन मनमा आफ्नो माग राखे, “हे भगवान् मैले आठ सयमा जुत्ता किनेको हुँ । त्यो मैले मन्दिरको मूलढोकामा फुकालेर आएको छु । त्यसको रक्षा गरिदिनु होस्, चोरको के भरोसा ।’’ 

मातृका पूजापाठ सकेर मन्दिर एक चक्कर घुमेर बाहिर निस्कदाँ फुकालेको ठाउँमा जुत्ता नदेखेपछि यताउता खोजबिन गर्दा पनि नभेटेपछि उनी खाली खुट्टा फर्के । अलि वर आएपछि आफ्नो नयाँ जुत्ता कटुस रूखको फेदमा च्यातचुत पारेर फ्याँकेको अवस्थामा देखेपछि मनमनै आफैसँग प्रश्न गरे,  ’भगवानले मेरो जुत्ताको सुरक्षा किन गरेनन् ?’

भगवानलाई रिस पोख्नका लागि भएपनि मातृकाले धर्म परिवर्तन गरेछ ।

No comments:

Post a Comment