Saturday, November 9, 2024

लघुकथा (अङ्क १७ मा प्रकाशित)

भागबन्डा

- भाभा शर्मा  



बीस किलो चामलको एक बोरा पच्चीस परिवारलाई कसरी बाँड्ने भन्ने कुरामा विवाद बढ्दै गएपछि बिस्तारै वरिपरिका अरू सज्जन, भलादमी, जान्नेसुन्नेहरू पनि भेला भए । फोटो खिचिएकाहरू बाहेक पनि हकदावी गर्ने दावेदारहरू विवादमा सहभागी भए ।

दिनभरिको चर्काचर्कीपछि सर्वपक्षीय सहमति कायम भयो । एक बोरा चामल नजिकैको भट्टी पसलमा बेचिने भयो । त्यसवापत प्राप्त नगद बाह्र सय रुपैयाँ फोटो खिचिएका पच्चीस परिवार अनि सज्जन, भलादमीहरूको रहोबरमा थपिएका अरू पाँच दावेदार परिवारसमेत गरेर तीस परिवारमा प्रति परिवार चालीस रुपैयाँका दरले वितरण गरियो ।

यता अठार सय रुपैयाँ पर्ने चामल बाह्र सय रुपैयाँमा मिलाइदिएकोमा सहभागी सज्जन, भलादमी र जान्नेसुन्नेहरूले एकहप्तासम्म हरेक दिन एक-एक बटुको शीतल पानी भट्टीपसलबाट सित्तैमा पाउने भित्री सहमति पनि भएको कुरो फोटो खिचिएर हिजो टेलिभिजनमा देखिएकाहरूले पत्तै पाएनन् ।


..‍.साथ सहयोगको खाँचो

No comments:

Post a Comment