Thursday, December 5, 2024

साभार लघुकथा (अङ्क १८ मा प्रकाशित)

 धर्म

- श्याम आशा  


धर्मको नाममा अति नै बहस गर्नुहुन्छ उहाँ । साँच्चै उहाँ आफ्नो धर्मप्रति पूर्ण समर्पित, आस्थावान भएर काम गर्नुहुन्छ । जुनसुकै धर्म सम्बन्धी गोष्ठी होस् वा भजन आदि धार्मिक काममा उहाँ प्रतिनिधि भएको देखिन्छ । साथै उहाँको धार्मिक तर्कलाई लिएर जो कोहीले आलोचना गर्न सक्दैनन्, उहाँका स्वर र अनुहार पनि त्यत्तिकै सुन्दर ।

अस्ति शनिबारको एउटा कार्यक्रममा यस्तै कुरा भयो । उहाँको नाममा कार्यक्रम भइरहेको थियो । एक ठाउँमा एकजनाले उहाँकै स्वीकृति लिएर प्रश्न राख्यो, ’आमाबाबु पाल्नु धर्म हो कि पाप ?’

उहाँले जवाफ दिनुभयो, ’त्यो त पाप होइन, धर्म हो ।’ प्रश्नकर्ताले पुनः सोध्यो, ’त्यसो भए तपाईंले किन आमाबाबु नपाल्नु भएको ? किन श्रीमती र आफ्ना बच्चाहरूलाई मात्र पाल्नु भएको ?’

’चुप लाग्नुस् !’ - प्रश्नकर्तालाई उहाँले भन्नुभयो । ’यो मेरो व्यक्तिगत मामिला हो । तपाईंलाई आवश्यक कुरा होइन, यो मेरो पारिवारिक विषयलाई तपाईंले हस्तक्षेप गर्न पाउनु हुन्न । तपाईंले यसरी अनावश्यक प्रश्न राख्नुभयो भने तपाईलाई मानहानीको मुद्दा पनि लाग्न सक्छ, बुझ्नुभयो ? होस गर्नुस् !’ प्रश्नकर्ता महोदयले मुखमा बुजो लगायो ।


..‍.साथ सहयोगको खाँचो

No comments:

Post a Comment