Thursday, January 23, 2025

म किन लेख्छु ? (अङ्क २० मा प्रकाशित)


ण्डै दुई दशकदेखि लेखिरहेको छु । समाज र देशमा हरेक दृश्यहरू देखिन्छन् । शिक्षित नागरिकको नजरमा अवश्य राम्रा र नराम्रा कुरा हुन् भनेर छुटिन्छन् । स्वभावैले एउटा छाप बसाउँछन् तर कस्तो प्रभाव छोड्छन् भन्ने अर्थले पक्कै फरक पर्दछ । मेरो मनमा बसेका तिनीहरूलाई कलम र कपीको सहारामा बाहिर ओकल्छु – कवितामार्फत्, कथा र लघुकथामार्फत् त कुनै अरू नै विधामार्फत् । मैले लेख्ने साहित्य विशेषतः आत्मसन्तुष्टिको लागि भए पनि त्यसमा भोगिरहेको तत्कालीन समयलाई अवश्य प्रतिनिधित्व गरेको हुन्छु । समाज र देशमा हुने विकृति र विसङ्गतिलाई व्यङ्ग्य गर्दै सचेतकको भूमिकामा उभिन चाहन्छु । मेरो समाज र देश यस्तो भइदिओस् या उस्तो भए हुन्थ्यो भनेर मार्गचित्र कोरिरहेको हुन्छु । लेखक भनेको समाज र देशको पथप्रदर्शक हो । त्यसैले म प्रायः सकारात्मक नतिजोन्मुख सिर्जनामा कलम चलाउँछु । मेरो बुझाइमा सम्भवतः लेखकको धर्म पनि यही नै हो ।

हो, मलाई साहित्य मन पर्छ । सबैभन्दा पहिले पाठक हुँ । यो पुस्तामा पठन संस्कार हराउँदै गइरहेको यथार्थ हो । लेखक मर्नु हुँदैन भन्ने मान्यता राख्छु । नेपाली साहित्यमा अग्रज, समकालीन र अनुज सबै खाले लेखकहरूका साहित्यिक कृतिहरू सम्भव भएसम्म किनेरै पढ्छु । हुन त यो समय भनेको प्रविधिले वर्चश्व कायम गरेको समय हो । इच्छाशक्ति भएमा निमेषभरमा विश्व बारे जानकारी लिन सकिन्छ । म चाहिँ आजको समयलाई सदुपयोग गर्दै किताबी ज्ञान समेत लिनैपर्छ भन्ने पक्षमा छु । अध्ययनको दायरालाई फराकिलो बनाउँदै लेखन कार्य जारी राखेको छु । विकासले चरमचुली छोएको देश जापानमा कर्मथलो बनाएकोले होला, यसकै विकास गर्ने शैली मेरो देशले अंगाले कस्तो हुन्थ्यो होला भनेर कहिलेकाहीँ सोचमग्न हुन्छु । सिस्टमलाई चलाउने नभई सिस्टममा चल्ने नेतृत्व पङ्क्ति भए, विकासले गति लिन समय नलाग्ला । यी र यस्तै विषयवस्तु मेरो लेखनको खुराकहरू हुन् । ती मेरा चाहनाहरूलाई हरपल पोखिरहेको हुन्छु । 

तब लेख्न थालेँ, जब ममा साहित्यिक चेतना खुल्यो । कक्षा दशमा नेपाली विषयको अतिरिक्त क्रियाकलापमा मेरो समुदाय भन्ने शीर्षकमा एउटा कविता लेखेको थिएँ  । त्यस कवितालाई हेरेर शिक्षकले भविष्यमा कवि बन्ने छनक देखायौ है भनेर ढाडस दिनुभएको सम्झना ताजा छ । त्यही बेला मेरो दिमागमा साहित्यको बीजारोपण भएको हो । तत्पश्चात् समय मिलेसम्म कविता लेखिरहेँ । समानान्तर समयमा छोटो छोटो कथाहरू लेख्न थालेँ । तिनै छोटो कथाहरूलाई लघुकथाको फ्रेममा हालेर सबै लघुकथा बनाएँ । हाल आएर तुलनात्मक लघुकथा विधामा बढी मेरो कलम दौडिन्छ ।

– हतुवागढी –६, होम्ताङ्, भोजपुर हाल : जापान


--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment