Monday, April 28, 2025

लघुकथा (अङ्क २३ मा प्रकाशित)


घाम झुल्कुन् घाम झुल्कुन् भनेर एउटा बालक आफ्ना घुँडा पनि कमिजभित्रै छिराएर कक्रक्क परेर बारीको डिलमा बसेको छ । घाम झुल्कने बित्तिकै घामको पहिलो किरण त्यहीँ पर्दछ । बिचरा उसँग फेर्ने कमिज पनि थिएन । विधवी आमाबाहेक घरमा कोही थिएनन्, कमाइ ज्याला मजदुरी नै हो । काम नहुँदा छरछिमेकमा परेको बेला काम गरिदिने सर्तमा पिठो मागेर छाक टार्थिन् उसकी आमा । बास बस्ने पराले छाप्रोबाहेक उनीहरूको आफ्नो भन्ने केही थिएन ।

एकदिन एउटा अमेरिकन पैदल यात्रु त्यही बाटो हिँडिरहेका थिए । उनलाई देखेर अचम्मित भएर यस्तो माघे ठण्डीमा कमिजबाहेक कपडाको धरो छैन आङ्मा । थर्थर कामेर पूर्वतिर फर्केर फत्फताइरहेछ घाम झुल्कून् भन्दै । उनी ओखरपौवा स्कुलमा पिस्कोर अन्तरगत सेवा गर्दै थिए विद्यार्थी पढाएर । अलि अलि नेपाली बुझ्ने हुँदा नाम सोधे– 'सूर्य तामाङ’ भन्यो । उनले उसकी आमा सुभद्रासँग म लगेर तिम्रो छोरा पढाऊँ भनेर सोधे । खाना अनि कपडा दिने पढाउने भनेपछि हुन्छ भनिन् ।

सूर्य चम्किएको थियो जेठको घाममा । अर्याल गाउँको तल आमा खोज्दै आए । प्रा.डा. सूर्य तामाङ् अमेरिकाको नसारोग विशेषज्ञ बनेर । सुभद्राका गाला चाउरी परेर कपाल पनि सेतै भइसकेको थियो यो बीस वर्षमा । उनी छोरालाई देखेर गद्गद् भइन् सूर्यका जीवनमा साँच्चिकै घाम झुल्किसकेको थियो नअस्ताउने गरी……… !

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment