एउटा विशाल मैदानमा धेरै प्राणीहरू जम्मा भएका थिए । सबैले आ–आफ्नो कलाकौशल देखाउनु थियो आज । उत्कृष्ट हुनेलाई पुरस्कारको घोषणा गरिएको थियो । पुरस्कारको लोभले धेरैभन्दा धेरै प्राणी उपस्थित देखिन्थे।
आफ्नो टिमको नेतृत्व गर्दै हात्तीले आफ्नो जङ्गली रुप देखाएर तर्साए । कुकुरहरू आफू मालिकको बफादार भएको प्रमाण पेश गरे । मांसाहारीहरूले शिकार गरेर आ–आफ्नो आहार बनाएको देखाए । कोही नाचे । कसैले गाएर मनोरञ्जन दिए । यसैबिच एउटा हुल देखा परे । आफ्नो कौशल देखाउन क्रममा कोही रुखमा चढेर हाँगाबिगा भाँच्न थाले । कोही फलफूल, खाद्यान्न लिएर भागे । कोही सामान तोडफोड गर्न थाले । कोही मञ्च भत्काउन थाले । कसैले लुटपाटको ताण्डव देखाए । केहीले लुछाचुँडी गर्दै गरेको दृश्य देखाए ।
त्यसपछि बाँदरको पालो आयो । बाँदरहरू धेरै बेरसम्म मौन बसेको देखेर आयोजकले सोधे, "बाँदरबन्धुहरू ! अब तपाईंहरू आ–आफ्नो कलाकौशल र क्षमताको प्रदर्शन गरेर देखाउनुहोस् । किन मैदानमा नउत्रिनु भएको ?’’
बाँदरहरूको अगुवाले भन्यो “हामीले प्रदर्शन गर्नुपर्ने कलाकौशल त मान्छेहरूले केहीबेर अगाडि नै प्रदर्शन गरेर देखाइसके नि !’’
– लाहाचोक, कास्की
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment