तामझाम, बाजागाजा र लावालस्करका बिचमा हुईँकिएर आएको एउटा गाडी टक्क रोकियो ।
एकजना सुटेडबुटेड भिआईपी कारबाट ओर्लिए । त्यहाँ प्रहरीको तैनाथी थियो, उनीहरूले उनीलाई स्यालुट ठोके । लामवद्ध प्रहरी अधिकारीले दिएका फूलका गुच्छा समाउँदै भिआईपीले सबैसँगै हात मिलाए ।
प्रहरी अधिकारीले भिआइपीलाई अनुरोध गरे, “हजुर एकचोटी सलामीमा जाऊँ कि !’’ उनको स्वीकारोक्तिको टाउको हल्लियो ।
केहीपर चौरमा मखमलले लपेटिएको फराकिलो पिर्का नेता बोक्न तयार थियो । उनी सरासर आएर पिर्कामाथि उभिने बित्तिकै कमाण्डरले आदेश ओकले, “माननीय मन्त्रीलाई सलाम अर्पण गर्ला !’’ कमाण्डरको बोली भूईँमा खस्न नपाउँदै, सलामी बाजा बज्यो, प्रहरीको गारतले एक्कैसाथ बन्दुक माथि उठाएर सलामी चढाए ।
भिडमा उपस्थित एक बयोबृद्धले असन्तुष्टी पोखे, “कस्तो काल जमाना आयो, केही महिना अघिसम्म प्रहरीको "मोस्ट वान्टेड’को सूचीमा रहेको अपराधीलाई अहिले प्रहरी आफैँ स्यालुट ठोक्न बाध्य छ !’’
अर्को दर्शकले प्याच्च बोलिहाल्यो, “अपराधी मन्त्री बन्नसक्ने व्यवस्था रहुन्जेल यस्तै हो मानिसहरुले बा ! बिचरा प्रहरी लाचार, अनि कानुनको उपहास !’’
-काभ्रे, पनौती । हालः कपन, काठमाडौँ


No comments:
Post a Comment