Sunday, June 14, 2026

लघुकथा (अङ्क ३५ मा प्रकाशित)


"सुराकी लगाउनु परेन ।”

दिनहुँ काम नगरी खान पुग्दैन । बिहान बेलुका साहुको घरमा मजदुरी गर्नु पर्छ । त्यहीँबाट आएको निमेकले गुजारा चल्छ । कमैयाहरूको जमात छ, सबै काममा जाने आउने गर्छन् । दिन सामान्य तरिकाले व्यतीत भएको देखिन्थ्यो ।

गाउँ शान्त, स्वच्छ अनि रमाइलो छ । खोलाको मूलको पानी हरियाली, उकाली ओराली, भिराला कान्लाले जो कोहीलाई लोभ्याउने गर्छ । त्यहाँका मान्छे सोझा छन्, एकआपसमा मेलमिलाप पनि बेजोडको छ ।

महिना मर्‍यो, सदाझैँ पारिश्रमिक बुझे तर हिसाबमा चासो कसैले देखाएनन्‌? एकले मुख खोल्यो, “काम अनुसारको ज्याला पुगेन, किन ?”

मजदुरहरूले सहमति जनाए, “सबैले होमा होको नारा लगाए, उसैलाई अगाडि सारे । सामुन्ने बोल्ने साहस कसैमा थिएन ?” उनीहरू खुसी थिए ।

उसैलाई अगुवा माने र भने, "अबदेखि तिमीलाई हामी साथ दिन्छौँ, बस् मजदुरको हकहितका लागि बोल्नुपर्छ भन्दै नेता बनाए ।”

अर्को दाहिने हात बन्यो, गुप्तचरको भूमिका निभायो । उसले भरोसा दिलाउँदै भन्यो, “केही समय धैर्य गरौँ, नआतिऔँ, अवश्य न्याय हुन्छ ।” मजदुरलाई आश्वासन दियो ।

एकले सत्य तथ्य बोल्न थाल्यो । युनियन बनायो, हड्ताल गर्‍यो, काम ठप्प पार्‍यो । ऊ हर्ताकर्ता बन्यो, साहुको नजरमा पर्‍यो ।

साहुले प्रलोभनको जालो फ्याँक्यो, लोभियो । मजदुरलाई छल गर्‍यो, विश्वासघात भयो, साहुसँगै मिल्यो अनि शान्त रहन थाल्यो ।

निरन्तर साथ दिएको अर्कोले सुइँको पायो र खबर ल्यायो । ऊ निराश भयो अनि मलिन हुँदै बोल्यो, “सामन्तवादीले ल्याएको भयानक रोगले सिकार भएछ नाइके, डिभाइड एन्ड रूलको, धोका नहोला भन्न सकिन्न?”

–गै‌डाकोट–४, नवलपुर

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment