साँझको धमिलो उज्यालोमा विवश पोखरीको डिलमा टोलाइरहेको थियो । हातमा एउटा पुरानो दैनिकी पुस्तिका थियो, जसका पानाहरू मैलिएका थिए। त्यस दैनिकी पुस्तिकाको अन्तिम पाना केही नलेखिएको, लेख्न बाँकी भेटियो । सुप्रियाको सम्झना जस्तै, जुन सुरू त भयो पूरा हुन भने सकेन ।
पाँच वर्षअघि तिनीहरूले यही पोखरीको डिलमा बसेर कति धेरै सपनाहरूको महल बनाएका थिए । विवश चित्रकार बन्न चाहन्थ्यो भने सुप्रिया विवशको प्रत्येक रङमा आफ्नो भविष्य देख्थिन् ।
विवशले हाँस्दै सुप्रियाको हात समातेर भनेको थियो, “चित्रमा अधुरो रेखा सच्चाउन सकिन्छ सुप्रिया तर मेरो जीवनको चित्र तिमीबिना अधुरै रहन्छ । हामी कहिल्यै छुट्ने छैनौँ ।”
तर समय र समाजको कठोर नियमका अगाडि ती दुईको साँचो माया पनि घुँडा टेक्न बाध्य भयो । जात र घरानाको अग्लो पर्खालले तिनीहरूलाई दुई किनारा बनाइदियो । सुप्रियाको विवाह बुबाले छानिदिएको घरानियाँ अर्कै केटासँग तय भयो । विवाहको अघिल्लो रात सुप्रियाले विवशलाई अधुरो प्रेमको अन्तिम पत्र पठाएकी थिइन् । जसमा यस्तो व्यहोरा थियो– 'हाम्रो सम्बन्धले नाम नपाए पनि, मेरो आत्माको क्यान्भासमा पहिलो र अन्तिम रङ तिम्रै हुने छ । । म जाँदै छुँ, तर मेरो र तिम्रो बिचको अधुरो प्रेम छाडेर ।’
त्यसपछि विवशले कहिल्यै चित्र बनाएन । उसको क्यान्भास र रङहरूमा धुलो जम्यो ।
वर्षौपछि विवशले त्यही पोखरीको डिलमा गई हातमा रहेको दैनिकी पुस्तिका बन्द गर्यो र पोखरीको शान्त पानीमा आफ्नो धमिलो छाया हेर्यो र बुझ्यो–सबै कथाको अन्त्य मिलनमै हुनुपर्छ भन्ने छैन । केही प्रेमहरू अधुरा रहेर नै अमर बन्छन्, किनकि पूरा भएका प्रेमहरू प्रायःसमयको चक्रमा धुमिलिन्छन् तर अधुरो प्रेम जीवनको अन्तिम साथसम्म उस्तै ताजा र गहिरो रहिरहन्छ ।
– प्युठान नगरपालिका वडा नम्बर ८, बाग्दुला प्युठान


No comments:
Post a Comment