ऋतुचक्र घुम्दो छ । संसार परिवर्तनशील छ । जल, हावा, पानी, प्रकाश, आकाशको आफ्नै अस्तित्व छ । शरद ऋतु दशैंको महान् चाड पछि झिलिमिलि दिपावली, उज्योलो खुसीको रङ्गिन चाड तिहार तुप्लुक्क आँगनमा आइपुग्यो । कागतिहार, कुकुरतिहार, गाईपूजा, लक्ष्मीपूजा, म्हपूजा क्रमशः भाइटीकाको शुभमूर्हतः शुरु भयो । पराजय परिवारको कान्छो भाइ अलि गरिव र बेरोजगारी गाउँमा खेतीपाती गरेर बाँच्ने भुईं मान्छे ।
दाजुहरू महान् प्रतिष्ठित धनीमानी हरेक कुरामा हिसाब–किताब गर्ने, आफ्नो फाइदाको खातिर अनेकन चालचाल्न सक्ने धूर्त चलाख । महिनौंदेखि दुःख मेहनत गरेर धान, पराल बेचेर दिदीबहिनीहरूको लागि दक्षिणा जम्मा गर्यो । शुरुमा दाजुहरूलाई टीकाटालो गरेर दक्षिणा लिएर भाइ पराजयको टहरामा टीका लगाउन आगमन भयो । सानी भान्जीको हातमा खुद्रा रूपैयाँका मुट्ठा थियो । भान्जीलाई व्यङ्ग्य गर्दै पराजयले भन्यो – आहो ! भान्जी ठुलावडा मामाहरूबाट थुप्रै दक्षिणा लिएर आएकी हौ ? खै ! खै ! म नोट मिलाई दिन्छु । बहिनीले आँखाको इसाराले हुन्न संकेत दिएपछि नाइँ भनिन् ।
कुनै प्रतिवाद विना यावत रूपमा पराजयले मण्डप बनाई भाइटीकाको लागि आवश्यक व्यवस्था गरियो । टीका पश्चात् दक्षिणा खुल्ला रूपमा दिइयो । दक्षिणा प्राप्ति पछि दिदीबहिनीमा कुटिल मुस्कान थियो । सुरुचि भोजन प्रबन्ध भयो । दिदीबहिनी आ–आफ्नो घरतर्फ लाग्यो ।
पराजयलाई खुसी लाग्यो । उफ … जसरी भए पनि यसपालि धान, पराल बेचेर तिहार टारियो । दिदीबहिनी खुसी भएँ । मनमा आनन्द भयो । आनन्दको सन्तोष लिनन पाउँदै गाउँको छिमेकीबाट नयाँ खबर पाइयो । “तिमी त लाटो रहेछौ तिम्रा दाजुहरू धनी भईकन पनि तिम्रा दिदीबहिनीहरूले ल्याएकी सर–सामान मूल्याङ्कन गरी दक्षिणा दिएको रहेछ । सामानको मूल्य १०००/– र १६००/– दक्षिणा तिम्रा दाजुहरूलाई घाटा भयो रे ! राम राम छिमेकीको सवालमा पराजयले “यो माया र सद्भावको भाइटीका अमूल्य हुन्छ ।” सर–सामानसँग तुलना हुँदैन भन्दै बारीमा डल्ला फुटाउन हिडेँ ।
–बुङ्गमति – २२, ललितपुर


No comments:
Post a Comment