चुनाव जितेर गाउँ फर्कन लागेका मन्त्रीको स्वागतका लागि गाउँमा भव्य तयारी हुँदै थियो । गाउँलेहरूले घरैपिच्छे पैसा उठाएर पाँच किलोको सुगन्धित फूलको माला ल्याएका थिए । लोकल कुखुराको मासु, बासमती चामलको पुलाउ र विभिन्न परिकारसँगै पेय पदार्थको पनि व्यवस्था गरिएको थियो ।
दसैँको अवसर पारेर विशेष स्वागत समारोह आयोजना गरिएको थियो । गाउँका चतुरबहादुर कामीले पनि पाँच सय रुपैयाँ चन्दा बुझाउनुपर्यो । महामारीका कारण यसपालि उनको कमाइ थिएन । छोराछोरीलाई नयाँ लुगा र मीठोमसिनो खुवाउनसमेत नसकेका उनले श्रीमतीको नाकमा लगाएको सुनको बुलाकी बेचेर चन्दा बुझाए ।
फूलपातीका दिन मन्त्री हेलिकप्टरमा गाउँ आइपुगे । तीन जनाले समातेर पाँच किलोको माला उनको गलामा पहिर्याए । ताली र तस्बिर खिच्ने क्रम चलिरह्यो ।
बच्चाले सहजै भन्यो, “यो माला बनाउन मेरी आमाको नाकको सुनको बुलाकी बेचेर पैसा दिएको हो नि !”
– महाराजगञ्ज, काठमाडौँ


No comments:
Post a Comment